रवि पत्नी निकिताबिरुद्ध पनि सहकारी ठगीमा अनुसन्धान गर्न प्रहरीलाई सिफारिस

बुधबार, १९ मंसिर २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारीको रकम हिनामिना प्रकरणको अनुसन्धान अगाडि बढाउन प्रहरीलाई सिफारिस गरेको छ । यो सहकारीको रकम हिनामिनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि जोडिएकी छन् ।

उनीसहितको सञ्चालक समितिलाई अनुसन्धान गरी कारवाही चलाउन महानगरले प्रहरीलाई पत्र पठाएको हो ।
महानगरले सोमबार काठमाडौं प्रहर परिसरलाई पत्र पठाएको जनाएको छ । पत्रमा सहकारी सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर जालसाजी गरेको देखिएको भन्दै तत्कालीन समयका सञ्चालकमाथि अनुसन्धान र कारबाही गर्न भनिएको छ ।

साई स्वागत सहकारीको साधारणसभाले २०७५ पुस २८ गते अध्यक्षमा भरतमणि जंगम, उपाध्यक्ष निकिता पौडेल, सचिव शंकर उपाध्याय दाहाल र कोषाध्यक्ष लुमन दाहाललाई छानेको थियो । महानगरको छानबिनमा संस्थाका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको भेटिएपछि कारबाहीका लागि सिफारिस गरिएको हो । बचतकर्ताको उजुरीका आधारमा महानगरको सहकारी विभागले साई स्वागत सहकारीमाथि केही महिनादेखि अध्ययन गरिरहेको थियो ।

अध्ययन सकिएपछि सोमबार महानगरले अनुसन्धानका लागि प्रहरीलाई पत्र लेख्ने निर्णय गरेको हो । महानगरले समस्या देखिएका ७ वटा सहकारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि यसअघि प्रहरीमा पत्र पठाइसकेको जनाएको छ ।

महानगरका अनुसार निकिताले उपाध्यक्ष रहेकै बखत धितो नराखी ५० लाख ऋण लिएको थियो । यो सहकारीका बचतकर्ताले १ करोड ९ लाख बढी रकम दाबी गरेको महानगरको भनाइ छ । अनुसन्धानका क्रममा संस्थामा गम्भीर त्रुटि तथा जालसाजी गरेको भेटिएको महानगरले जनाएको छ । करिब डेढ महिनाअघि भरतमणिकै अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएपनि त्यसको विवरण महानगरमा पठाइएको छैन ।