यसकारण लगिएको रहेछ रविलाई रातारात चितवनबाट पोखरा

बिहिबार, २० मंसिर २०८१

काठमाडौं – सहकारी बचत ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा लगिएको छ ।

लामिछाने बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय पोखरामा पुगेको प्रहरीको भनाइ छ । गए राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिएको थियो । उनलाई खाना खुवाएर बयान प्रमाणित गरेपछि राति ९ बजे मात्र सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ आदेश पाइसकेको भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकाले लामिछानेलाई राति नै पोखरा लगिएको हो ।

चितवनमा लामिछानेसँग दुई दिनसम्म बयान लिइएको थियो । उनलाई मंगलबार काठमाडौंमा बयान सकेपछि चितवन लगिएको थियो ।

चितवनमा हिजो उनको बयानका क्रममा बाहिर प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरी र समर्थकबीच झडप हुँदा प्रहरीले बल प्रयोग गरेको थियो, जसमा दुई दर्जनभन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये ८ जना प्रहरी रहेको जनाइएको छ । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।

लामिछानेसँग पोखरा, चितवन, काठमाडौं र रूपन्देहीका सहकारीहरूको रकम अपचलन सम्बन्धी आरोपमा बयान लिइएको छ । बुधबार मात्रै पर्सामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।