रवि लामिछानेमाथिको अमानविय व्यवहार रोक्न प्रचण्डको चेतावनी

सोमबार, २४ मंसिर २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश र अलोकतान्त्रिक व्यवहार गरेको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै प्रचण्डले लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका हुन् ।

रवि लामिछानेमाथि भइरहेको त्यसप्रकारको व्यवहार रोक्न प्रचण्डले गम्भीर आग्रहसमेत गरेका छन् । अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले अलोकतान्त्रिक व्यवहार गरेको उनको टिप्पणी छ ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु’, प्रचण्डले लेखेका छन् ।

रवि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए । सहकारी ठगी प्रकरणमा प्रकाउ परेका रवि कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । यसबीचमा उनको भैरहवा, काठमाडौं र चितवनमा बयान लिइएको छ । उनलाई बयानका लागि आज पर्सा लगिएको छ ।