ओली सरकार ढल्नै लागेको सिंहदरबारभित्र चर्चा

मंगलबार, २५ मंसिर २०८१

काठमाडौं – ओली सरकार ढल्न लागेको सिंहदरबारबृत्तमा हल्ला चल्न थालेको छ । आफ्नै नेतृत्वको सरकारको आयु तोक्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफै ‘सरकार ढल्नसक्ने’ संकेत गरेको भन्दै सिंहदरबारभित्र हल्ला चलिरहेको छ ।

मन्त्रिपरिषद् हेरफेर गर्न खोजेका प्रधानमन्त्री ओलीलाई सत्तारूढ दलबाट साथ मिलेको छैन । चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयवन गर्ने विषयमा ऋण लिनेसमेत प्रधानमन्त्री ओलीको चाहना थियो । तर, सत्तारूढ नेपाली कांग्रेसको ऋणमा नभई अनुदानमा सो परियोजना लिनुपर्ने अडान कायमै छ ।

यही कारण प्रधानमन्त्री ओली र सत्तारुढ नेपाली कांग्रेस नेताका बीचमा दूरी बढदै गइरहेको छ । छिमेकीले समेत अहिलेको सरकारलाई नरुचाएको चर्चाका बीचमा नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेनन् ।

ओलीको चीन भ्रमण नसकिँदै नेपाल भ्रमणमा आएका लुले कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलसम्मलाई भेटघाट गरे । तर, प्रधानमन्त्री ओलीलाई भने भेट्न चासो देखाएका छैनन् । लुले नभेट्ने संकेत दिएसँगै ओली विभिन्न कार्यक्रम बनाएर गृहजिल्ला झापातर्फ लागेका हुन् ।

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीको मनभित्र सत्तारूढ कांग्रेसले ‘गडबड’ गर्ला कि भन्ने भय र त्रास रहेको देखिन्छ । त्यसैले, उनले सरकार ढल्ने संकेत गर्दै आफ्ना कार्यकर्तालाई सडकमा उत्रिनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् । बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिनुपर्ने अवस्था रहेकाले त्यसको तयारीमा रहन निर्देशन दिए ।

एमाले एउटा क्रान्तिकारी पार्टी भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ, हामी सजग, संगठित र आन्दोलनकारी हुनुपर्छ, कोठामा बसेर ठूला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ रु हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन, सडकमा उत्रिन सधैं तयार हुनुपर्छ ।’

उनले मुलुकमा अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सचेत, संगठित एवं सक्रिय हुनुपर्ने बताए । तर, सरकारको नेतृत्व आफंैले गरेका ओली आफैं भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको विपक्षी दलका नेता प्रचण्डलगायतले आरोप लगाउँदै आएका छन् । ओलीले झापा विद्रोहलाई गौरवशाली इतिहास भन्दै कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले शान्तिपूर्ण आन्दोलनमा समेत क्रान्तिकारीजस्तो उभिनुपर्ने बताए ।

एमालेका विरुद्धमा देशी विदेशी शक्ति लागेको टिप्पणी गर्दै उनले मुलुकमा अस्थिरता, अराजकता फैलाउन केही व्यक्तिहरू लागेको आरोपसमेत लगाए । पार्टीका नेताकार्यकर्ताले जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्नुपर्ने उनले बताए । उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न निर्देशनसमेत दिएका छन् ।

उता, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले बीआरआई परियोजना ऋणमा नभई अनुदानमा मात्रै स्वीकार गर्ने अडान दोहो¥याएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यी र यस्तै विषयले ओली सरकार ढल्न लागेको भन्दै सिंहदरबारभित्र बहस भइरहेको छ ।