जो डराएर भाग्छ, उ जिन्दगीभरि कष्ट झेलिरहन्छ

बुधबार, २६ मंसिर २०८१

एक कुशल मूर्तिकार लामो यात्रामा थिए। यात्राका क्रममा लागेको थकाइ मेट्न उनी एक वृक्षको छहारीमा बसे । नजिकै एउटा ढुंगो थियो । मूर्तिकारले त्यसलाई देखे । उनी आफ्नो झोलाबाट छिनो र हथौ डा निकालेर ढुंगोमाथि चलाउन लागे ।

जब उनले ढुंगामाथि पहिलो प्रहार गरे, तब अचानक ढुंगा चिच्याउन थाल्यो– ऐया बाबा मरेँ ! ममाथि प्रहार नगर्नुहोस् । ढुंगाको रोदन सुनेर उनमा दया पलायो । त्यो ढुंगालाई त्यसै छाडेर उनी अर्को ढुंगोमा आफ्नो कला पोख्न थाले । मूर्तिकार बडो तन्मयतासाथ हथौडा र छिनो चलाइरहे । दोस्रो ढुंगोले सब प्रहार सहिरह्यो ।

एकैछिनमा एउटा कुरूप ढुंगोको स्थानमा तत्कालै बोलिहाल्छिन् कि जस्तो लाग्ने देवीको मूर्ति तयार भयो । मूर्तिलाई रुखको फेदमा राखेर उनी आफ्नो बाटो लागे । केही वर्षपछि तिनै मूर्तिकार फेरि त्यही बाटो हुँदै कतै जाँदै थिए। उनी पछिल्लोपटक विश्राम गरेको रुखको फेदमा पुगे । त्यहाँ उनले बनाएर छाडेको मूर्तिको पूजा अर्चना भइरहेको थियो । भक्तजनको भिड ठुलै थियो । मूर्तिको भजन, आरती भइरहेको थियो ।

उनी पनि लाममा उभिए। उनको दर्शनको पालो आयो । यसो हेर्दा आफूले बनाएको मूर्तिको निकै सत्कार भइरहेको उनले देखे । मूर्तिको छेवैमा उनले मूर्ति बनाउन पहिलोपल्ट छिनो चलाउँदा रुने ढुंगोलाई पनि राखिएको रहेछ। भक्तजनहरू उसको शिरमा नरिवल फुटाएर मूर्तिमा त्यसको जल चढाइरहेका थिए।

मूर्तिकारले मनमनै सोचे– जीवनमा केही पाउनका लागि आफ्नो शिल्पकार चिनेर उनको सत्कार गरी केही कष्ट झेल्नैपर्ने रहेछ। जीवनमा जो डराएर भाग्न तयार हुन्छ, उसले जिन्दगीभरि कष्ट झेलिरहनुपर्दो रहेछ। त्यसको कसैले सम्मान गर्दा रहेनछन् ।