पूर्वरक्षामन्त्री पक्राउ

आइतबार, ३० मंसिर २०८१

काठमाडौँ – ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्वरक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्‍याएको आरोपमा ब्राजिलका अधिकारीहरूले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

ब्राजिलको संघीय प्रहरीले अनुसन्धानमा बाधा पुर्‍याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । “ब्रागा नेट्टोलाई पक्राउ गरिएको हो,” स्रोतले जानकारी गराएको छ ।

गत नोभेम्बरको अन्त्यतिर प्रहरीले पूर्वदक्षिणपन्थी राष्ट्रपति बोल्सोनारो र दर्जनौँ सहयोगीलाई वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको शपथ ग्रहण रोक्न ‘कू’को प्रयास गरेको आरोपमा अभियोग लगाउन सिफारिस गरेको थियो ।

यो सूचीमा नेट्टो पनि सामेल थियो र सन् २०२२ को चुनावमा उनको प्रतिस्पर्धी पनि थिए । महान्यायाधिवक्ता पाउलो गोनेटले बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध सह–षड्यन्त्रकारीका रूपमा नामित आरोपलाई प्रमाणले समर्थन गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेका छन्।

करिब दुई वर्ष लामो प्रहरी अनुसन्धानपछि गोनेटले तयार पारेको ८८४ पृष्ठ लामो प्रतिवेदनमा बोल्सोनारो र अन्यलाई ‘कू’को योजना बनाएको र ‘लोकतान्त्रिक राज्यलाई हिंसात्मक ढंगले अपदस्थ गर्न’ खोजेको अभियोगमा अभियोग लगाउन आग्रह गरिएको छ ।