रवि लामिछाने अझै ३ महिना प्रहरी हिरासतमा रहने

सोमबार, १ पौस २०८१

काठमाडौँ – रास्वपा सभापति रवि लामिछाने अझै ३ महिना प्रहरी हिरासतमा रहने भएका छन् । प्रहरीले सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको भएपनि थप ४ जिल्लामा रविविरुद्ध अनुसन्धान भइरहेकाले रवि हिरासतमुक्त हुन समय लाग्ने छ । मुद्दाको शीर्षक र कसुर एउटै भए पनि घटनास्थल र कसुरका प्रकार फरक भएकाले थुनछेकका लागि हरेक जिल्ला अदालतमा उपस्थित गराउनुपर्ने बाध्यता छ ।

कास्कीबाहेक थप ४ जिल्लामा रविविरुद्ध अनुसन्धान भइरहेकाले एउटा अदालतले छोड्दैमा रवि हिरासतमुक्त हुननसक्ने भएका हुन् । पाँचै जिल्लाले अदालतबाट पक्राउ अनुमति लिई बयानका लागि सरकारी वकिलमा पेश गरिसकेका छन् ।

यसमध्ये कास्की प्रहरीसँग उपलब्ध अनुसन्धान अवधि करिब करिब सकिन लाग्दा सोमबार सरकारी वकिलसमक्ष मुद्दा पेश भएको हो । अब सरकारी वकिलले प्रहरीद्वारा पेश भएको मिसिल अध्ययन गर्छ । केही नपुगेका कागजात भए, झिकाउन सक्छ र जिल्ला अदालतमा पेश गर्छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार प्रहरीले पठाएको प्रतिवेदन दर्तामात्रै भएको छ, अध्ययन शुरु भएको छैन । त्यसैले फेरि म्याद थप गरेर उनीहरुलाई हिरासतमै राख्नुपर्ने स्थिति रहेको उनले बताइन् । प्रहरीबाट प्राप्त फाइलहरु आउने क्रममै रहेको भन्दै उनले अध्ययन कार्य शुरु नभएको बताइन् ।

‘हामी अहिले नियमित काममै व्यस्त छौं, दुई-चार दिनमा अध्ययन गरेर मुद्दा चल्ने, नचल्ने कुराको निचोडमा पुग्छौं’, उनले भनिन् ।

अर्थात् सरकारी वकिलले चाहँदा रविको मुद्दा चल्ने वा नचल्नेमध्ये दुबै हुनसक्ने काफ्लेले बताइन् । मुद्दा चल्ने स्थिति भएमा अभियोग पत्र बनाउनुपर्छ । यी सबै काम गर्न हाल उपलब्ध म्याद पर्याप्त नभएको उनले बताइन् ।‘म्याद त थप्नैपर्छ, अहिलेको म्यादले पुग्ने स्थिति छैन’, उनले भनिन् । धेरै मान्छे जोडिएको मुद्दा भएका कारण हतारमा अनुसन्धान गर्दा त्रुटि हुनसक्ने भन्दै उनले अझै केही समय लाग्ने बताइन् ।

सरकारी वकिलले यदि मुद्दा चल्ने ठहर गरेमा मात्रै जिल्ला अदालतमा पेश हुन्छ । र, थुनछेक बहस शुरु हुन्छ, तर अदालतमा पेश गर्न नै समय लाग्ने न्यायाधिवक्ता काफ्लेको भनाइ छ । यदि कास्की अदालतले उनलाई धरौटीमा रिहा गरे उनलाई त्यहीबाट रुपन्देहीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिनेछ । अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने भैरहवामा थुनछेक बहस हुँदा उनलाई उपस्थित गराउनुपर्ने प्रहरी स्रोतले जनाएको छ  ।