तीन ठाउँमा बम राखेको सूचना, इटहरी उपमहानगरपालिका अगाडिको शंकास्पद वस्तु डिस्पोज गरिदै

मंगलबार, १६ पौस २०८१

विराटनगर – सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडिसहित तीन ठाउँमा बम राखेको भन्दै प्रहरीलाई सूचना आएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उपमहानगरपालिकासँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको हो ।

उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली खटिएको प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।

भोटेपुलमा शंकास्पद वस्तु नभेटिएको उनले बताए । बुढीखोला पुलमा शंकास्पद वस्तु भएनभएको खोजीका लागि तालिम प्राप्त कुकुरसहितको टोली खटिएको उनले बताए । बुढी खोला पुलमुनि एउटा बोरामा शंकास्पद वस्तु भएको आशंका छ । ‘सूचनामा भनिए अनुसारको वस्तु उपमहानगर अगाडि भेटिएको छ, बुढीखोलामा पनि खोजी भइरहेको छ,’ उनले भने, ‘प्रहरीले थप अनुसन्धान गर्दैछ ।’

आज बिहान करिब साढे ४ बजे इलाका प्रहरी कार्यालय इटहरीमा राजावादी समूहको नाममा तीन ठाउँमा बम राखेको भन्दै म्यासेज आएको थियो । प्रहरीलाई आएको सूचनामा आजदेखि सशस्त्र संघर्ष सुरु भएको भनिएको छ । प्रहरीले शंकास्पद वस्तु राख्ने र प्रहरीलाई सूचना दिने व्यक्तिको खोजी गरिरहेको उनले बताए ।