रविको थुनछेक बहस चल्दै गर्दा अदालतको इजलासमै रुवाबासी

मंगलबार, १६ पौस २०८१

काठमाडौँ – पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी थुनछेक बहस चल्दै गर्दा कास्की जिल्ला अदालतको इजलासमै रुवाबासी भएको छ । इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले यहीँ मर्ने अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो ।

८० वर्षीय गुरुङले इजलासमा यस्तो बताएपछि अवस्था असहज भएर बहस नै स्थगित गरिएको अदालत स्रोतले बताएको छ । उनको यहीँ मर्नेु अभिव्यक्तिपछि पूर्व सांसद मिना गुरुङ लगायत रुन थालेका थिए भने बहसको वातावरण एकाएक बिग्रन पुगेको थियो ।

जतिबेला न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले बहस सकेर शान्तिदेवी शर्माले बहस थालेकी थिइन् ।

सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समेत जोडिएका छन् । उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।

सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लगायतका केही प्रतिवादीलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ ।