३२ वर्षे उमेरहदले अखिल क्रान्तिकारीमा लफडा
काठमाडौँ – माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) मा ३२ वर्षे उमेरहदले लफडा भएको छ । कारण उमेरहदको मत परिणामका कारण पक्षरविपक्षमा लफडा बढ्दै जाँदा लफडा भएको हो।
यही लाफडाले आगामी माघ १२ गते तोकिएको निर्वाचनसमेत प्रभावित हुन सक्ने विद्यार्थी नेताहरूले बताएका छन् ।
यही पुस १३ गते भएको निर्वाचनमा खुला पक्षधर २१ मतान्तरले पराजित भएपछि केही जिल्लामा धाँधली भएको आरोप लगाउँदै आएका छन्। यही बिषयलाई लिएर निर्वाचन समितिमा उजुरी समेत परेको छ। तर, आयोगले उजुरीउपर कुनै छानबिन नै नगरी नतिजा सार्वजनिक गरेकामा खुला पक्षधर आक्रोशित भएका हुन् ।
निवर्तमान अध्यक्ष पञ्चा सिंह र उपाध्यक्ष पवन कार्की समूहबीच संगठनभित्र लामो समयदेखि चर्किएको विवाद गत वर्ष बालुवाटारमा भएको आठबुँदे सहमतिसँगै अन्त्य भएको थियो । तर, उमेरहद लगाउने वा खुला गर्ने विषयमा भएको निर्वाचनका कारण नयाँ लफडा सुरु भएको हो । चुनावी परिणामलाई लिएर दुवै पक्षले उजुरी दिएपछि आयोगले मतगणना नै रोकेको थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय सुनाउने सबै अधिकार आयोगलाई दिएको थियो । पार्टीको उक्त निर्णयपछि दुवै पक्षको उजुरीमाथि कुनै सुनुवाइ नगरी आयोगले आइतबार राति अन्तिम नतिजा सार्वजनिक गरेको थियो ।