अघिल्लो पटक राजकीय सम्मान पाएकी राणालाई यो पटक देल्लीले व्यवास्ता गर्नुको रहस्य खुल्यो
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजकीय भ्रमणका लागि नबोलाएको भारतले युरोप हुँदै त्यहाँ पुगेकी परराष्ट्रमन्त्री आरजु राणालाई पनि दोस्रो पटक बेवास्ता गर्नुको कारण पत्ता लागेको छ।
अघिल्लो पटक गत भदौमा परराष्ट्रमन्त्री बन्नासाथ भ्रमणमा पुगेकी राणालाई प्रधानमन्त्री सहरको मान दिएको भारतले युरोप हुँदै नयाँ दिल्ली पुग्दा बेवास्ता गर्नुको प्रमुख कारण चीनसँग गरिएको बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) सम्झौता मुख्य कारण रहेको खुलेको हो ।
यसबाहेक भारतीय संस्थापन प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुष्ट रहनु पनि हो। बलियो र दिगो सरकार बन्ने भएपछि यो गठबन्धनलाई भारतले रुचीकर नमानेको उच्च स्तरीय कुटनीतिक जानकार बताउँछन्।
त्यसबेला भारतीय विदेशमन्त्री एस जयशंकरको निम्तो मान्न पुगेकी राणासँग त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत भेट गरेका थिए। भेटवार्ता नेपाल–भारत सम्बन्ध सुदृढीकरण, द्विपक्षीय सहकार्य, र क्षेत्रीय समृद्धिबारे केन्द्रित रहेको बताइएको थियो।
भेटका क्रममा आरजु राणाले नेपालको आर्थिक विकास, ऊर्जा क्षेत्रको सहयोग, र सीमा व्यवस्थापनजस्ता मुद्दाहरूमा भारतको सक्रिय समर्थनको आग्रह गरेकी थिइन्।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल भारतका लागि विशेष स्थानमा रहेको उल्लेख गर्दै दुवै देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएका थिए।
तर युरोपबाट सिधा नयाँ दिल्ली उत्रिएकी राणालाई यस पटक खासै चासो दिइएन। ‘यो राजनीतिक र कुटनीतिक कारण हो। भारतले नेपाल सरकारलाई हेर्ने सांकेतिक दृष्टिकोणका रुपमा पनि बुझ्न आवश्यक हुन्छ’, उच्च स्रोतले भन्यो,‘युरोपबाट नयाँ दिल्लीमा पुग्नुको उद्देश्य भनेको ओलीको भ्रमणको तारतम्य मिलाउनु थियो। तर, उच्च स्तरीय भेट हुन सकेन।’
तर जब भारतीय पक्षले बेवास्ता गरेको चर्चा भयो र प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई सम्झौता भयो अनि नेपाली कांग्रेसले भारतलाई आश्वस्त पार्नका लागि त्यो ऋण नभएको भन्नेसम्मका नोट पठाएका विवरण सतहमा आएका थिए।