दुवै सदनमा अध्यादेश लानबाट ब्याक भयो सरकार
काठमाडौं – संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्ने कार्यसूचीबाट सरकार पछि हटेको छ । राष्ट्रियसभामा संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि सरकार संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्ने कार्यसूचीबाट सरकार पछि हटेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेशहरू पारित गराउनका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग प्रतिनिधिसभामा स्पष्ट बहुमत छ ।
तर, राष्ट्रिय सभामा बहुमत पुर्याउन सत्तापक्षलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको साथ चाहिन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा अध्यादेश स्वीकार गर्न बहुमत अर्थात् कम्तीमा ३० सांसदको समर्थन आवश्यक पर्छ ।
राष्ट्रिय सभामा अध्यादेशको पक्षमा रहेका कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन् ।यस्तै विपक्षमा नेकपा माओवादी केन्द्रका १७, नेकपा एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ सांसद छन् । अध्यादेशबारे निर्णय गरिनसकेको जसपा नेपालका राष्ट्रियसभामा ३ सांसद छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेस-एमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् ।
राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग बहुमत छैन । यस्तोमा दुवैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले बिहीबार दिउँसोसम्म पनि पार्टीमा निर्णय गराएका छैनन् । राजकिशोर यादव नेतृतवको कार्यदलले बल्ल प्रतिवेदन बुझाएको छ।
बिहान ९ बजे बुझाउने भनिएको प्रतिवेदन नै राजकिशोरको कार्यदलले दिउँसो १ बजे बुझाएको छ। जसपाले निर्णयमा ढिलाइ गरेकाले अध्यादेश माथिल्लो सदनमा रोकिएको हो ।