ह्वात्तै बढ्यो उपेन्द्र यादवको भ्यालु
काठमाडौँ – जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव एकाएक शक्तिशाली बनेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गरेको प्रतिस्थापन विधेयकका कारण यादवको भ्यालु बढेको हो । राष्ट्रिय सभामा तीन सीट रहेको जसपाले संघिय सरकारमा गृहमन्त्री र मद्येशमा मुख्यमन्त्री मागेर बार्गेनिङ पावरसमेत बढाएको छ । यादवको मागले सरकारको शक्ति सन्तुलन खल्बलिने खतरासमेत बढेको छ ।
सरकारबाट बाहिरिएको ६ महिनापछि उपेन्द्र एकाएक नेपाली राजनीतिमा चर्चामा आउन थालेका छन्।
यो परिस्थिति सरकारले सृजना गरेको हो। २९ पुसमा सरकारले अध्यादेश ल्यायो। १७ माघमा संसदमा पेस भइसकेको छ। अब सरकारले ६० दिनभित्र प्रतिस्थापन विधेयक अगाडि बढाएर दुबै सदनबाट पारित पनि गर्नुपर्ने छ। होइन भने खारेज हुनेछ।
त्यसका लागि जसपा निर्णायक बनेको छ। बिहीबार नै प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची थियो । तर राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकारले संसदमा पेस गर्न खोजेको अध्यादेश कुनैपनि सदनमा पेस भएन। प्रतिनिधि सभामा सत्तापक्षसँग प्रष्ट बहुमत छ। तर, राष्ट्रिय सभामा सत्तापक्षसँग प्रष्ट बहुमत छैन। राष्ट्रिय सभामा जसपा नेपालका तीन जना सांसद छन्। उनीहरूले जता मत दिए उतै बहुमत पुग्नसक्ने सम्भावना छ।