अमेरिकाबाट २० नेपाली डिपोर्ट

बुधबार, ३० माघ २०८१

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछिको पछिल्लो २३ दिनको अवधिमा अमेरिकाबाट २० जना नेपाली डिपोर्ट भएका छन्  ।

डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ ।

उनका अनुसार अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ ।

ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका समाचार सार्वजनिक भएका थिए ।