हिम्मत नहार्नु

बिहिबार, ८ फाल्गुन २०८१

काठमाडौँ – माटोमुनि दबिएको एउटा बिउ आफ्नो खोलभित्र आरामसाथ सुतिरहेको थियो । उसका बाँकी साथीहरू पनि आआफ्नो खोलभित्र त्यसैगरी खुम्चिएर बसिरहेका थिए । एक दिन अचानक वर्षा भयो । माटोमाथि थोरै पानी जम्मा भयो । सबै बिउ भिजेर सड्न थाले । पहिलो बिउको अवस्था पनि राम्रो थिएन । ऊ पनि सड्ने अवस्थामा पुग्यो । बिउले सोच्यो– यसरी नै बसिरहेँ भने मेरो अवस्था पनि साथीहरूको जस्तै हुनेछ । म पनि बिउको रूपमै मर्नेछु । त्यसैले, अब म आफू अमर बन्ने कोसिस गर्नैपर्छ । त्यसै हिम्मत हार्नु हुँदैन ।

बिउले हिम्मत देखायो र पूरै शक्ति लगाएर आफ्नो खोल तोड्यो र आफूलाई एक बिरुवाका रूपमा परिवर्तित ग¥यो । अब माटो र वर्षा उसका मित्र बने । हानि पु¥याउनुको साटो उनीहरू उसलाई बढ्न मद्दत गर्न थाले । बिस्तारै ऊ बढ्दै गयो । बढ्दाबढ्दै ऊ अब थप बढ्न नसक्ने अवस्थामा पुग्यो । उसले पुनः सोच्यो– अब म बढ्न सक्दिनँ । यसैगरी बसिरहेँ भने एक दिन मर्नेछु । तर, मलाई त अमर हुनु छ । यस्तो सोचेर उसले आफूलाई एक सुन्दर फूलमा परिवर्तन ग¥यो ।

हरेक वसन्तमा फूल फुल्न थाल्यो । उसको बास्ना निकै टाढा–टाढासम्म पुग्न थाल्यो । भँवराहरू त्यहाँ घुम्न थाले । फूलबाट थप बिउ पैदा भए । र, ती बिउ टाढा–टाढासम्म पुगे । अन्ततः अनेक कठिन परिस्थिति र चुनौती झेलेर आफूलाई परिवर्तित गर्ने निर्णय गर्ने बिउ पुनः लाखौँ बिउका रूपमा जीवित भयो ।

परिवर्तनलाई एक घटनाका रूपमा होइन, प्रक्रियाका रूपमा हेर्नुपर्छ । यो नयाँ खोजजस्तै हुन्छ । यसले हाम्रो वातावरणलाई मात्र होइन, हामीलाई पनि बदल्न सक्छ । हामी विकासका नयाँ–नयाँ सम्भावना देख्न थाल्छौँ र आफूलाई बदल्न सक्षम हुन्छौँ । यसले हामीलाई मेटाउनुको साटो थप मजबुत बनाउँछ र हामी थप प्रगतिउन्मुख हुन सक्छौँ ।