निर्वाचन प्रमुखलाई कोठामा थुनेर नेविसंघले लगायो आगो

बिहिबार, २९ फाल्गुन २०८१

विराटनगर – विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्ववियु निर्वाचन समिति प्रमुख डा. सुशीलकुमार अधिकारीलाई कांग्रेस निकट नेपाल विद्यार्थी संघले कोठाभित्र थुनेर आगजनी गरेको छ । कांग्रेस नेता शेखर कोइराला निकट विद्यार्थी नेताहरूले बुधबार मध्यान्ह अधिकारीलाई कोठामै थुनेर आगो लगाएका हुन् ।

अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरेका थिए । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गरेको थियो ।

प्रहरीले आगजनी गर्ने चार जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य योजराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

उनीहरूले आगजनी गर्नु र निर्वाचन अधिकृतलाई थुन्नुको कारण भने नेविसंघको आधिकारिकताको विवाद हो । काँग्रेस निकट नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूह छन् । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनको लागि दुईवटा नेविसंघ दर्ता भएका थिए । तर, निर्वाचन समितिले मंगलबार राति केन्द्रले दिएको आधिकारिताको चिठी लिएर गएपछि देउवा पक्षबाट उम्मेदवार बनेका प्रज्वल विष्टको समूहलाई नै आधिकारिक मान्दै चुनावी समूहको नाम सार्वजनिक गर्‍यो ।

जसमा कोइराला समूहबाट उम्मेदवार बनेका नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका योगराज दाहालको समूहलाई स्वतन्त्र प्यानलको मान्यता दिइयो । त्यसपछि आक्रोशित बनेका उनीहरूले निर्वाचन अधिकृत अधिकारीलाई थुन्ने र निर्वाचन कार्यालयमा आगो लगाउने काम गरेका हुन् ।