काँग्रेस-माओवादीको नयाँ सत्ता समिकरण बन्दै
काठमाडौँ – काँग्रेस र माओवादी मिलेर नयाँ सत्ता समीकरण बन्ने भएको छ । गणतन्त्रको रक्षाका लागि नयाँ समितिकरण बन्न लागेको माओवादी सांसद लेखनाथ दाहालले खुलाएका छन् ।
केपी ओली नेतृत्वको सरकारले बेथिति, अराजकता र अनियमितताले राजावाददीहरु उत्साहित भएको भन्दै यसलाई रोक्न नयाँ सरकार बन्ने बताए ।
गणतन्त्रको रक्षा र संविधान कार्यान्वयनका लागि नयाँ सहकार्यको खोजी भैरहेको सो पार्टीका सांसद तथा युवा नेता लेखनाथ दाहाल राजनले खुलासा गरेका हुन् । आज संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणतन्त्र पक्षधर दलबीचको सहकार्यामा नयाँ सरकारको प्रयास थालिएको बताए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले बेथिति, अराजकता र अनियमितता निम्त्याएको जिकिर गर्दै उनले यसबाट प्रतिगामी शक्तिलाई फाइदा पुगिरहेको तर्क गरे । यस्तो अवस्थाको अन्त्यका लागि कांग्रेस र माओवादीबीच सहकार्य आवश्यक रहेको र त्यहि दिशामा छलफल केन्द्रित रहेको दाहालले खुलाए ।
‘सरकारमै बसेर व्यवस्था विरोधीलाई फाइदा पुग्नेगरी जुन गतिविधि भइरहेको छ, त्यसलाई निरुत्साहन गर्न गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिने र सहकार्य गर्ने कुरा भएको छ’, उनले भने, ‘गणतन्त्र पक्षधरहरुको सरकार निर्माण गर्ने सम्भावनाको ढोका खुलेको छ, यो प्रक्रियामा छलफल शुरु भएको छ, केही समयपछि यसले एउटा आकार ग्रहण गर्नेछ ।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक विश्वासपात्र मानिने उनले राजवादी भन्दा पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारसँग माओवादी गम्भीर बन्नु परेको पनि बताएका छन् ।