तहसनहस भयो राजा फर्काउने आन्दोलन समिति
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्रले राजा फर्काउन बनाएको जनआन्दोलन समिति तहसनहस भएको छ । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा जनआन्दोलन समिति बनेकोप्रति राजाकोएजेन्डा बोक्ने मुख्य दल राप्रपा नै असन्तुस्ट बनेपछि आन्दोलन समिति तहसनहस बनेको हो।
जनआन्दोलन समितिमा सदस्यका रुपमा रहेका राजेन्द्र लिङ्देन, कमल थापा र केशरबहादुर विस्टले समिति बहिस्कार गरेका छन् भने संसदमा हंगामा मच्चाइरहेका ज्ञानेन्द्र शाही पनि रुष्ट बनेका छन् । नारायणहिटीबाट बिदा भइसकेको राजतन्त्रलाई फेरि फर्काउने भनेर वर्तमान व्यवस्था विरोधीहरूको समूहले मोर्चा बनाउँदा दुई राजावादी हस्तीलाई बाइपास गरिएको खुलासा भएको छ ।
पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बाइपास गरिएको पाइएको हो ।
दुवै नेताहरूले आफूहरूसँग कुनै छलफल बिना नै समिति मातहतको निर्देशक समितिमा नाम राखिएको बताएका छन् ।
स्रोतका अनुसार पूर्वराजाकै चासोमा सुवेदीलाई राजतन्त्र फर्काउने मिसनका साथ संयोजक बनाइएको हो । तर, राजावादी प्रमुख दलका अध्यक्ष लिङ्देनलाई बेवास्ता गरिएको हो भने देश गणतन्त्रमय भएको बेला राजतन्त्रको एजेण्डा उठाएका कमल थापासँग पनि कुनै सल्लाह नभएको हो ।