विश्वमै सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका व्यक्ति ४० बर्षपछि निर्दोष सावित

मंगलबार, १२ चैत्र २०८१

काठमाडौँ – ४० बर्ष जेल बसेका एक व्यक्ति निर्दोष सावित भएका छन् । व्यक्ति हत्या आरोपमा विश्वमै सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका जापानका इवाओ हाकामादालाई अदालतले निर्दोश सावित गरेको छ ।

चार दशकसम्म उनले भोगेको पीडा र अन्यायको कुनै मूल्य त हुन सक्दैन, तर जापानको इतिहासमै सबैभन्दा ठूलो क्षतिपूर्तिको आदेश अदालतले दिएको छ ।

एक गलत हत्याको आरोपमा दोषी ठहरिएका र विश्वमै सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका इवाओ हाकामादालाई अदालतले १४ लाख डलर क्षतिपूर्ति दिन आदेश दिएको छ ।

यो भुक्तानीले हाकामादाले चार दशकभन्दा बढी समय थुनामा बिताएको क्षतिपूर्ति स्वरूप प्रति दिन १२ हजार पाँच सय येन ९८३ अमेरिकी डलर० प्रदान गरेको छ ।

८९ वर्षीय यी पूर्वबक्सर सन् १९६६ मा चार व्यक्तिको हत्या आरोपमा फसाइएका थिए । तर, गत वर्ष उनकी बहिनी र अन्य समर्थकहरूको निरन्तर प्रयासपछि उनलाई निर्दोष ठहराइएको थियो ।

सिजुओका जिल्ला अदालतले सोमबारको फैसलामा ‘दावीकर्तालाई २१ करोड ७३ लाख ६२ हजार पाँच सय येन क्षतिपूर्ति दिन’ आदेश दिएको छ । सेप्टेम्बर महिनामा सोही अदालतले हाकामादालाई पुनरावलोकनपछि निर्दोष ठहराएको थियो र प्रहरीले प्रमाणहरूमा छेडछाड गरेको निष्कर्ष निकालेको थियो ।

अदालतले हाकामादामाथि गरिएको ‘स्वीकारोक्ति निकाल्न जबरजस्ती गरिएको अमानवीय अनुसन्धान’ को पनि ठहर गरेको छ । पछि उनले जबरजस्ती गराइएको त्यो बयान फिर्ता लिएका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यो रकम जापानको इतिहासमै यस्ता प्रकारका क्षतिपूर्तिमा सबैभन्दा उच्च हो ।