समस्याबाट नभागौँ

सोमबार, १८ चैत्र २०८१

एक झुण्ड जंगलमा रहेको चौरमा सतर्कतापूर्वक आराम गरिरहेको थियो । एउटा किशोर पाडोले आफ्ना पितासित प्रश्न गर्‍यो– बाबा, के यो जंगलमा मैले डराउनुपर्ने कुनै जीव छ ? पिताले भन्यो– सिंहहरूसित सावधान रहनू । पाडोले भन्यो– हो, मैले पनि सुनेको छु, सिंह निकै खतरनाक हुन्छन् रे ! मैले कतै सिंह देखेँ भने जतिसक्दो छिटो भाग्ने कोसिस गर्नेछु ।

पिताले भन्यो– होइन, योभन्दा गलत काम केही हुनेछैन । पाडोलाई आफ्ना पिताको जवाफ अलि अनौठो लाग्यो । उसले भन्यो– किन ? सिंहहरू खतरनाक हुन्छन् । तिनले मलाई खान पनि सक्छन् । त्यस्तोमा भागेर ज्यान बचाउनुपरेन त ? पाडोलाई सम्झाउँदै पिता अर्नाले भन्यो– तिमी भाग्यौ भने सिंह पनि तिम्रो पछि दौडिनेछ । दौडिँदा ऊ तिम्रो ढाडमा चढेर सजिलै तिमीलाई भुइँमा लडाउन सक्छ । एकपटक उसले तिमीलाई लडायो भने तिम्रो मृत्यु निश्चित छ ।

पाडोले डराउँदै प्रश्न गर्‍यो– यस्तोमा मैले के गर्नु ठिक हुन्छ त बाबा ? पिता अर्नाले उसलाई सम्झाउँदै भन्यो– केही गरी तिमीले सिंहलाई देख्यौ भने आफ्नै स्थानमा डटेर उभिनू र आफू अलिकति पनि नडराएको भाव देखाउनू । त्यति गर्दा पनि ऊ गएन भने आफ्ना तिखा सिङ देखाउनू । आफ्नो खुरले जमिन खोस्रेर धुलो उडाउनू । यति गर्दा पनि सिंह भागेन भने बिस्तारै होसियारीपूर्वक सिंहतिर अघि बढ्नू । नजिकै पुगिसकेपछि आफ्नो पूरै तागत लगाएर ऊमाथि आक्रमण गर्नू ।

आत्तिँदै पाडोले भन्यो– यो त पागलपन भएन र बाबा ? यस्तो गर्दा त ज्यान जाँदैन र ? सिंहले फर्केर ममाथि आक्रमण गर्‍यो भने कसरी जोगिनु ? पिता अर्नाले भन्यो– आफ्नो चारैतिर हेर त तिमी के देख्छौ ? पाडो चारैतिर घुमेर हेर्न थाल्यो । उसको चारैतिर निकै बलिया अर्नाहरूको झुण्ड थियो । पिता अर्नाले पुनः भन्यो– तिमीलाई कुनै पनि वेला डर लाग्यो भने सम्झनु, हामी सबै तिम्रो साथमा छौँ । तिमी संकटको सामना गर्न छाडेर भाग्यौ भने हामी तिमीलाई बचाउन असमर्थ हुनेछौँ । तर, तिमीले साहस देखायौ, संकटसित जुध्ने हिम्मत गर्‍यौ भने हामी सबै तिम्रो सहयोगका लागि पछाडि खडा भएको पाउनेछौ । पाडोले लामो सास लियो र यो अमूल्य शिक्षाका लागि पितालाई धन्यवाद दियो ।

तसर्थ, पाडो जस्तै हामी पनि समस्या भाग्ने होइन, समस्यासँग जुध्ने हो । समस्यासँग जुध्न आत्मविश्वास चाहिन्छ ।