भाटभटेनीले दिने भयो सविनकी श्रीमतीलाई जागिर

मंगलबार, २६ चैत्र २०८१

काठमाडौँ —तीनकुने घटनामा परेर ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसालाई भाटभटेनी सुपरमार्केटले जागिर दिने भएको छ। मंगलबार भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले यस्तो बताएका हुन् ।

भाटभटेनीले यसअघि नै तीनकुने घटनामा ज्यान गुमाएका मध्ये पत्रकार सुरेश रजकको परिवारलाई पाँच लाख रुपैयाँ र महर्जनको परिवारलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको थियो । अध्यक्ष गुरुङले आज दुवै परिवारलाई घरमै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । सो क्रममा उनले यो दुःखद समयमा साथ दिन आफू उपस्थित भएको बताएका थिए ।

राजावादी समूहले चैत १५ गते तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनका क्रममा सविनको गोली लागेर मृत्यु भएको थियो भने सुरेशको आगोमा जलेर मृत्यु भएको थियो ।