राजावादी आन्दोलनमा मारिने युवाका परिवारलाई दुर्गा प्रसाईंले ५–५ लाख दिने

बुधबार, २७ चैत्र २०८१

काठमाडौं – दुर्गा प्रसाईंले चैत १५ को आन्दोलनमा मारिने युवाका परिवारलाई ५–५ लाख दिने घोषणा गरेका छन् । बुधबार बेलुका एक भिडियो सन्देश सार्वजनिक गर्दै प्रसाईँले यस्तो घोषणा गरेका हुन् ।

सुरक्षाको ग्यारेन्टी भए आफू २४ घण्टाभित्र सार्वजनिक हुने बताउँदै उनले आफू नेपालमै रहेको जिकिर गरेका छन् । उनले प्रहरीलाई नखोज्नसमेत सुझाव दिएका छन् ।

प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो ।

प्रसाईंको भनाइको सार यस्तो छ

खास गरेर धेरै मिडियामा मेरो विषयमा मिम बनाउने, मलाई जोकर बनाउने कुराहरु आए । मुर्गा प्रसाईं भनेर हिसाबकिताबको कुरा आए । हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो । यात्रा एउटा व्यक्तिले नै सुरु गर्ने हो ।

दुर्गा प्रसाईं अहिले ‘हरहर दुर्गा घरघर’ दुर्गा भएको छ । दुर्गा भनेको विचार हो । म भागेको होइन, जोगिएकोमात्र हो । म रहेँ भने यो अभियान र जनविद्रोह सफल हुन्छ । म रहिनँ भने यो जनविद्रोह नै समाप्त हुन्छ ।

१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५-५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु ।

म भागेको छैन । म जोगिएकोमात्र हो । त्यो दिन कस्ता कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन् । म भाग्न जन्मेको होइन । विवश भएर हो । प्रचण्ड, केपी ओली र अर्को राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर १५ गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ, दुर्गा प्रसाईंलाई पागल, जोकर बनाउनुपर्छ भनेर निर्णय गरेका रहेछन् । मबाट नेतृत्व हत्याउने कोसिस भइरहेको छ , तर म अरु ऊर्जा र उमंगका साथ, नयाँ योजनाका साथ आउँदैछु ।