सडकमा मकै पोलेर एक युवाले जोडे घडेरी

बिहिबार, २८ चैत्र २०८१

काठमाडौँ – मकै पोलेर एक युवाले घडेरी जोडेका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरीका ३८ वर्षीय हरि जिसीले मकै पोलेर बेचेको पैसाले घडेरी किनेका छन् भने घर बनाउने योजना बनाएका छन् ।

आठ वर्षदेखि बुटवल नारायणगढ सडकखण्डको गैंडाकोट आसपासको सडक किनारमा पोलेको मकै बेचेर उनले राम्रो आम्दानी गरिरहेका छन् । बुटवल नारायणगढ सडकखण्डको गैंडाकोट आसपासको सडक किनारमा पोलेका मकै खानेहरूको दिनहुँ भिड लाग्छ। सिँचाइको व्यवस्थाले होला, गैंडाकोट क्षेत्रमा बाह्रैमास मकै उत्पादन हुन्छ।

हरिया मकै पोलेर र खोसेल्टासहित बिक्री गरी स्थानीयले आम्दानी गरिरहेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरीका ३८ वर्षीय हरि जिसीले पनि मकै बेच्दै आएका छन्। निर्माणाधीन बुटवल नारायणगढ सडकखण्डको किनारमा प्लाष्टिकको छाप्रो हालेर हरिकी श्रीमती मीना जिसी आगोमा मकै पोल्छिन्। त्यो बाटो भएर आउजाउ गर्नेहरू पोलेको मकै खान्छन्।

मकै पोल्न र बेच्न थालेको कति वर्ष भयो ?

आठ वर्ष जति भयो होला। एक-दुई वर्ष श्रीमती एक्लैले मकै पोलेर बेच्थिन्। मैले पनि हरियो मकै बेच्न थालेको आठ वर्ष जति भयो।

एकदिनमा कति घोगा मकै बेच्नुहुन्छ ?

काँचो र पोलेको गरेर दिनमा कम्तीमा पाँच सय घोगा बेच्छु। गर्मीमा भन्दा जाडोमा धेरै बिक्री हुन्छ। अब त गर्मी लाग्न थालेको छ। एकदिनमा पोलेको एक सय घोगा जति मकै बिक्री हुन्छ। जाडोको समयमा अघि बढी बिक्री हुन्थ्यो। काँचो मकै पनि गर्मीमा भन्दा जाडोमा धेरै बिक्छ। दिनमा पाँच सयदेखि कहिलेकाहीँ त एक हजार घोगा पनि बिक्री भयो। आज पनि भर्खर चारसय घोगा दाङ पठाएँ, मकै पोलेर श्रीमतीलाई पनि सघाउँछु।

मकै कहाँबाट ल्याउनुहुन्छ ?

यही वरपरको खेतबाट ल्याउने गर्छु। किसानसँग घोगा गनेरभन्दा खेतमा एकैपटक ठेक्का लिने गर्छौं। त्यसो गर्दा अलि फाइदा हुन्छ। अहिले चारकठ्ठाको मकै चालिस हजारमा ठेक्का लिएका छौं। त्यसबाट चार हजार जति घोगा निस्किन्छन्। अलि माथितिर पनि दुई तीन ठाउँ ठेक्का लिएको छ। काँचो मकै एकसयको ८ देखि १० वटासम्म दिने गर्छौं। मेहनत गर्नु परेपनि काँचोभन्दा पोलेको बिक्री गर्दा नै धेरै नाफा निस्किन्छ।

मकै बिक्री गरेर कत्तिको नाफा निस्किन्छ ?

आफ्नै खेतबारीमा उब्जिएको भए राम्रै हुन्थ्यो। आफ्नो जग्गा जमिन छैन, अर्कोले लगाएको मकै नै महँगोमा किनेर ल्याउनुपर्छ। बर्खा याममा मकै जताततै पाइने भएकोले आठ दश रुपैयाँमा एउटा घोगा पाइन्छ। हिउँदमा एउटै घोगालाई १७र१८ रुपैयाँ पर्छ।

पोलेर ३०र३५ रुपैयाँमा बेच्ने हो। पोलेको मकै बेच्दा हिउँदमा भन्दा वर्षायाममा अलि नाफा निस्किन्छ। श्रीमती र म दुवै जनाको मेहनतले राम्रै भएको छ। दिनमा २ हजार जति नाफा निस्किन्छ। छोराहरूलाई पढाउन खान लाउन पुगेको छ। यसैबाट कमाएको पैसाले घडेरी किनेका छौं। अब घर बनाउने योजना छ।

मकै नपाइने समयमा के काम गर्नुहुन्छ ?

वर्षको दुईतीन महिना त्यति धेरै मकै पाइँदैन। त्यो बेला यहि ठाउँमा तरकारी बेच्छौं।

कत्तिको सन्तुष्ट हुनुहुन्छ यो व्यवसायबाट ?

राम्रै छ। पहिले नै यही काम गर्न थालेको भए हुने रहेछ भन्ने लागेको छ अहिले त। अझै यो बाटो बनाउन ढिलो नभएको भए राम्रै आम्दानी हुन्थ्यो। सडकका कारण धुवाँधुलोले गर्दा व्यापारमा कमी भएको छ। चिल्लो बाटो हुन्थ्यो भने नुन खुर्सानीसँग पोलेको मकै खान मन नपराउने कमै मान्छे हुन्छन्।

घरमा को-को हुनुहुन्छ ?

हामी बुढाबुढी र दुई जना छोरा छन्। जेठो छोराले अहिले एसईई दिएको छ। कान्छो छोराले कक्षा ६ मा पढ्दै छ।

तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ ?

आफूलाई चाहिने चिज केही किन्ने मन छैन। तनहुँबाट यहाँ आएको १० वर्ष जति भयो। सानो सानो घडेरी किने पनि घर बनाउन सकिएको छैन। दुई चार लाख भयो भने दुई कोठाको भए पनि घर बनाउन हुन्थ्यो। अहिले भाडामा बसेका छौं।

तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो ?

म त व्यापार राम्रो हुने दिन सधैं खुसी हुन्छु। यो दिन धेरै खुसी भएको भन्ने छैन। मेरो खुसी त मकैको व्यापारमा भर पर्छ।

तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो ? 

मकै बेच्न थालेपछि आफ्नै अटोरिक्सा आवश्यक पर्‍यो। गाउँ भित्रभित्र गएर मकै लिएर आउनुपर्ने। भाडामा गाडी खोजेर ल्याउँदा नाफा नहुने। दुई वर्ष पहिले ऋण खोजेर आफैले अटो रिक्सा किनेँ। त्यतिबेला धेरै दुस्ख भयो। ऋण सम्झिएर धेरै समय रातीमा निद्रा पनि लागेन। अहिले त ऋणपनि सकियो आनन्द भएको छ।

तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ ?

आफू राम्रो भए टोल समाज पनि राम्रै हुन्छ। आफू खराब भए टोल समाज पनि खराब हुन्छ। मान्छे-मान्छे मिलेर बन्ने त हो नि टोल समाज पनि। मान्छे नै राम्रो नभए टोल समाज कसरी राम्रो हुन्छ। हामी बसेको टोल समाज राम्रो छ। सबै मिलेर बसेका छौं।

तपाईंको मनमा बसिरहेको पीर वा यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ ?

मनमा पीर त केही पनि छैन तर, यही बाटोको छेउछाउ जग्गा भाडामा लिएर भए पनि सानोतिनो होटल खोल्ने मन छ। त्यो होटलमा सबै खानेकुरा मकैको मात्र राख्ने। काँचो मकै लैजान चाहनेहरूलाई दिने। मकैका परिकार खान चाहनेलाई मकैको आटो, रोटी, पुवादेखि पोलेको, उसिनेको, भुटेको, साँधेको सबै प्रकारको मकै खुवाउने चाहना छ।

तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ जस्तो लाग्छ ?

राजनीति त राम्रो लाग्दैन। न त हामीले जागिर पाइन्छ न केहीमा सुविधा, के को राम्रो लाग्नु र। राजनीति त नेताहरू र आसेपासेलाई मात्र भयो। चुनावभन्दा पहिले सबै पार्टीका उम्मेदवारले काम गरेर खानेहरूलाई काम गर्ने व्यवस्था मिलाइदिन्छौं भनेका थिए। चुनाव जितेपछि सबै बिर्सिए। यही सडकको किनारमा मकै पोल्नलाई छाप्रो हालिदिनु भनेर धेरै पटक भनियो कसैले सुनेनन्।

सडक किनारमा अटो रिक्सामा राखेर मकै बेचिरहेका हरिसँग भगवती पाण्डेले सेतोपाटी लागि तयार पारेको सामग्रीबाट साभार गरेर प्रस्तुत गरेका हौं । -सेतोपाटीबाट साभार