पूर्वराजा ज्ञानेन्द्र शाहको सम्पत्ती छानविन गर्न गगन थापाको माग
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्पत्ती छानविन गर्न माग गरेका छन् । शुक्रबार नेपाली कांग्रेस भोजपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले पूर्वराजादेखि कांग्रेसका नेताहरूसम्मको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न माग गरेका हुन् ।
उनले शक्तिशाली आयोग बनाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्ने बताएका थिए । पूर्वराजादेखि कांग्रेससम्मका नेताको तीनपुस्ते सम्पत्ति छानबिन गर्न आयोग बनाउँनुपर्ने उनको धारणा थियो।
उनले अख्तियारमाथि प्रश्न उठाउँदै भने,’अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ यसले अनुसन्धान गर्छ, अनुसन्धान गरेको विषय छापामा ल्याउँछ। वर्षौँसम्म तँलाई थुन्दिउ थुन्दिउँ भनेर बिताउँछ। अब एउटा शक्तिशाली आयोग बनाउँ। शक्तिशाली आयोगलाई ०४६ सालपछि शासनसत्तामा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अधिकार दिऔँ।’
०४६ पछाडि नेपालमा कांग्रेसले पनि शासन गर्यो, एमालेले गर्यो, राप्रपाले गर्यो, माओवादीले गर्यो हुँदा-हुँदा पूर्वराजाले पनि गरे, नयाँ भनिएकाहरू पनि शासन सत्तामा बसिसकेका छन्। शक्तिशाली आयोगबाट यो देशमा लाभको पदमा बसेका सबै मानिसको तीनपुस्ते सम्पत्ति हेरौँ, आयव्यय हेरौँ। छानबिन गरौँ, ‘उनले भने।