इलाममा चिया टिप्न पुगे १५ देशका राजदूत

सोमबार, १ बैशाख २०८२

परराष्ट्र मन्त्री आरजु राणा देउवासहितको टोली नयाँ वर्ष २०८२ अवसरमा सूर्योदय नगरको भ्रमणमा आएको हो । सूर्योदय नगरपालिकाको स्थानीय संयोजनमा राजदूत र मन्त्रीले यहाँको अन्तुपोखरी, अन्तुडाँडा, स्थानीय सुन्दर चियाबारीलगायत अवलोकन गरेका छन् । उनीहरूले अन्तुपोखरीमा डुंगा सयर र फिसिङसमेत गरेका छन् । अन्तुको चियाबारीमा चिया टिपेका छन् भने दुई दर्जना हाराहारी गुणस्तरका तयारी चियाको स्वाद टेस्टसमेत गरेका छन् ।

उनीहरूले कन्याममा घोडा चढेर पनि आनन्द लिए । स्थानीय जातजातिका सांस्कृतिक झाँकी र स्थानीय परिकारले उनीहरूलाई स्वागत गरिएको थियो । उनीहरूलाई चिया, दूध, अलैंचीलगायत स्थानीय उत्पादनसमेत चखाइएको छ । चियाको बोटमै आएर टिप्न र चाख्न पाउँदा आनन्द अनुभूत भएको अस्ट्रेलियाका राजदूत लेनान जोनस्टनले बताए । टोलीमा परराष्ट्र मन्त्रालयका कर्मचारी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधिलगायतको समेत सहभागिता छ ।