एलन मस्कको बच्चा जन्माइदिने महिलालाई ५ अर्ब ४८ करोड
काठमाडौँ – विश्वकै धनी एलन मस्कले आफ्नो बच्चा जन्माइदिने महिलालाई ५ अर्ब ४८ करोड बढी नेपाली रुपैयाँ दिने भएका छन् । गत सेप्टेम्बरमा छोरालाई जन्म दिएकी सेन्ट क्लेयरलाई एक करोड ५० लाख अमेरिकी डलर पैसा दिएका छन् भने छोरा २१ वर्षको हुँदासम्म उसलाई हुर्काउन हरेक महिना एक लाख डलर दिने सम्झौता गरेका छन् ।
मस्कका वैध सन्तानको संख्या १४ पुगेको छ भने अवैध सन्तानको कुनै लेखाजोखा छैन ।अर्बपति व्यापारी इलोन मस्क मान्छेलाई मंगल ग्रहमा पुर्याएर मानव जातिलाई बहु-ग्रहीय प्राणी बनाउन चाहन्छन्।
मंगल ग्रहमा मानव बस्ती बसाउन उनले स्पेस एक्स नामको कम्पनी नै बनाएका छन्। घट्दो जनसंख्याका कारण पृथ्वीमै मानव जाति संकटमा पर्न सक्ने भनेर उनले अमेरिका र युरोपका विकसित देशका नागरिकलाई बारम्बार धेरै बच्चा जन्माउन आग्रह गर्ने गर्छन्। उनले अरूलाई अर्ति मात्रै नदिएर आफैले पनि त्यसको पालना गरिरहेका छन्। अति बुद्धिमानु छोराछोरीको ‘पल्टन’ नै बनाउने अभियानमा लागेका मस्कका चार जना महिलाबाट कम्तीमा १४ ज्ञात छोराछोरी छन्। त्यसबाहेक पनि उनका धेरै छोराछोरी भएको मानिन्छ।
अति बुद्धिमान छोराछोरीको ‘पल्टन’ हुर्काउनका लागि उनीहरूका आमाको बसोबासका लागि उनले टेक्सास राज्यको अस्टिनमा एउटा छुट्टै कोलोनीको परिकल्पना गरेको समेत द वाल स्ट्रिट जर्नलले लेखेको छ। यस्तोमा आफ्ना विभिन्न कम्पनी सञ्चालन गर्ने मात्रै नभएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी सेवा चुस्त पार्न बनाएको डोजका (डिपार्टमेन्ट अफ गभर्न्मेन्ट इफिसिएन्सी) प्रमुख रहेर समेत काम गरिरहेका मस्कले कसरी त्यति धेरै छोराछोरी र उनीहरूका आमाहरूको व्यवस्थापन गर्छन् भनेर जर्नलले चर्चा गरेको छ।
सो समाचारमा मस्कका एक छोराकी आमा एश्ली सेन्ट क्लेयरसँग लामो कुराकानी गरिएको छ भने मस्कका दुई छोरा र एक छोरीकी आमा ग्राइम्सको (क्लेयर बुसर) छोराछोरी कोसँग रहने भनेर चलेको मुद्दाबारे पनि चर्चा गरिएको छ।
समाचारका अनुसार गत वर्ष भएको चुनावमा ट्रम्पलाई जिताउन मस्कको २५ करोड डलरभन्दा बढी पैसा परिचालन गरेका उनको ‘फेमिली अफिस’ का प्रमुख जेरेड बर्चलले उनको निजी जीवन पनि सम्हाल्छन्। गत सेप्टेम्बरमा मस्कको छोरालाई जन्म दिएकी सेन्ट क्लेयरले मस्क उनको छोराको बुवा भनेर डिएनए जाँच गराउन खोजेकी थिइन्। त्यसबेला बर्चलले बच्चाबारे केही नबोल्न उनलाई एक करोड ५० लाख डलर पैसा र छोरा २१ वर्षको नभइन्जेलसम्म उसलाई हुर्काउन हरेक महिना एक लाख डलरको प्रस्ताव गरेको सो समाचारमा उल्लेख छ।
विश्वका सबभन्दा धनी व्यक्ति मस्कले आफ्ना बच्चाका आमाहरूलाई पैसा दिने सम्झौता गर्दा जहिल्यै पनि आफू र ती बच्चाबारे केही पनि खुलासा नगर्ने कडा सर्त राख्ने गर्छन्। यस्तो सर्तमा मस्कले धेरैजना महिलासँग सम्झौता गरेर पैसा दिएको बर्चलले सेन्ट क्लेयरलाई बताएको सो समाचारमा भनिएको छ।