नेपाल बैंकविरुद्ध अख्तियारमा पर्यो उजुरी
काठमाडौँ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बैंकबाट २० अर्ब ४० करोड १५ लाख बढी रकम हराएको भन्दै बैंकका शेयरधनी अंगराज भारतीले अख्तियारमा उजुरी गरेका हुन् ।
उनको उजुरी बैशाख १६ गते अख्तियारको दर्ता नम्बर सी–०६४००५२ मा दर्ता भएको छ । बैंकबाट साना तथा मझौला उद्योग कर्जा शिर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको पाइएको थियो । उनले यसअघि बैंकलाई हराएको रकम खोज्न आग्रह गर्दै पत्राचार गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गर्दै हराएको रकम खोज्न माग गरेको विषयमा बैंकले बेवास्ता गरेको थियो ।
बैंकको २०७४ फागुन महिनामा साना तथा मझौला उद्योग तर्फ कर्जा सीमा रु ३३ अर्व २७ करोड ८३ लाख कर्जा देखिन्छ । सोहि समयमा बैंकको वास्तविक कर्जा रु ३१ अर्व ४८ करोड ५६ लाख देखिन्छ । फागुनदेखि चैत्र महिनामा आई पुग्दा सोहि शिर्षकमा कर्जा सीमा रु २२ अर्व ४५ करोड ७९ लाख देखिन्छ भने वास्तविक कर्जा रु २१ अर्व ५ करोड ३२ लाख मात्र देखिन्छ । नेपाल राष्ट्र बैंकले नेपाल बैंकको २०७४ फागुनमा कुल वास्तविक कर्जा रु ७९ अर्व १९ करोड ४ लाख र चैत्त महिनामा रु ७९ अर्व ७० करोड ५९ लाख कर्जा प्रकाशित गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार फागुनदेखि चैत्रमा नेपाल बैंकको जम्मा रु ५१ करोड ५४ लाखले मात्र कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले रु ५१ करोड ५४ लाखले कर्जा बढेको देखाएको अवस्थामा नेपाल बैंकको फागुनदेखि चैत्र महिनाको साना तथा मझौला उद्योगमा वास्तविक कर्जा रु १० अर्व ४३ करोड २३ लाख कर्जा घटेको देखिन्छ । समग्रमा जम्मा ५१ करोड ५४ लाखले कर्जा बढेकोमा समग्र भित्रको कुनै एउटा शिर्षकमा ठूलो रकम घट्नुलाई भारतीले बैंकका तत्कालिन संचालक समिति, प्रमुख कार्यकारी अधिकृत र व्यापारीको मिलेमत्तो रकम अपचलन गरेको अर्थ लगाएका छन् ।
त्यस्तै, २०७५ जेठको तुलनामा असारमा पनि त्यसैगरी रु ९ अर्व ९६ करोड ९१ लाख गायव भएको उनको आरोप छ । दुईटै आर्थिक बर्षमा हराएको रकम जोड्दा २० अर्ब ४० करोड १५ लाख रुपैयाँ हराएको बताउँदै भारतीले कारवाहीका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन् । उनले नेपाल राष्ट्र बैंक, राष्ट्रिय सूचना आयोग, सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागसहित थुप्रै मिडियालाई समेत बोधार्थ पठाएका छन् ।
