प्रचण्डलाई सुदूरपश्चिमपछि मधेशमा पनि आइलाग्यो आपत
काठमाडौँ— माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अर्को आपत आइलागेको छ । सुदूरपश्चिम प्रदेश संसदीय दलको विवाद मिलाउन नसकेका प्रचण्डलाई मधेश प्रदेश संसदीय दलमा समस्या निम्तिएको छ । मधेशमा भरतप्रसाद साह संसदीय दलका नेता छन् । माओवादीका ९ मध्ये ६ प्रदेश सांसदले दलको नेताबाट साहलाई हटाउन संसदीय दलमा प्रस्ताव पेश गरेका छन् ।
यही बेला मधेशमा अर्को आपत आइलागेको छ। माओवादी मधेश प्रदेश संसदीय दलको नेता फेर्ने विवाद पेचिलो बनेको छ। संसदीय दलको विधान अनुसार प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाह, राजी हैदर, सुनिता यादव, मालाकुमारी कर्ण र रहबर अन्सारीले साहलाई हटाउन माग गर्दै उपनेता युवराज भट्टराई समक्ष प्रस्ताव पेश गरेका हुन्।
संसदीय दलको विधानमा दलको सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । दलको नेतामाथि अविश्वासको प्रस्ताव उपनेतालाई बुझाउन सक्ने व्यवस्था छ ।
यसबारे मधेश प्रदेशमा बैठक पनि बसेको थियो। तर, विवाद समाधान हुन नसकेपछि मंगलबार प्रचण्डको निवासमै संसदीय दलको बैठक बसेको हो। यो बैठकबाट पनि समाधान निस्केको छैन। मंगलबार प्रचण्डसहित पार्टीका उपमहासचिव वर्षमान पुन र मातृका यादवको उपस्थिति दुई घण्टाभन्दा बढी चलेको बैठकमा केही सांसदले पदबाट राजीनामा समेत दिने चेतावनी दिएका छन्।
बैठकमा सबै ९ सांसद उपस्थित थिए। प्रदेश सांसद शारदा पहाडी मात्र दलका नेता साहको पक्षमा देखिएका छन्। अन्य ६ सांसद विपक्षमा छन् भने दलका उपनेता युवराज भट्टराई तटस्थ छन् ।