नेपालमा राजतन्त्र फर्किए लडाईं हुन्छ : बिजुक्छे

मंगलबार, ६ जेष्ठ २०८२

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा राजतन्त्र फर्किए लडाईँ हुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै नेपालमा विदेशीको आडमा राजतन्त्र फर्किए लडाईँ हुने बताएका हुन् ।

भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेमात्र पनि देशमा लडाईं हुने उनले जिकिर थियो । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन हट्नुपरेको उनले बताए ।

‘पहिला राजाले त सबैलाई जेलमा हालिदियो । विरोध भएर गयो । फेरि त्यो आयो भने फेरि जान्छ । बाँकी त रहँदैन नि । यदी त्यसलाई इन्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाईं हुन्छ देशमा,’ उनले भने, ‘बन्दुक बाहेक अरु उपाय त जनताले मान्दैनन् । अफगानिस्तानमा पनि राजालाई पछि बोलाएको हो । गद्दीमा अब बस्दिन भन्यो । बस्नै सक्दैनन् ।’

उनले अहिलेका दलहरू झगडा गरेर भएका एक दुई वटा नदीनाला पनि नदेलान् भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । ‘अहिले हामीलाई डर छ कि पार्टीहरू झगडा गरेर एक दुई वटा नदीनाला बाँकी छ । त्यो नदेलान् । राजा ल्यायो भने राजाले त अहिले बोलाएर सही गराउँछ । सकिन्छ । त्यसकारण अहिले राजालाई ल्याउनु हुँदैन,’ बिजुक्छेको भनाइ छ ।

अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप पनि लगाए ।