वौद्धिकताका धनी प्रा.डा. शिवशरण महर्जनको संघर्षलाई फर्केर हेर्दा… 

शनिबार, १० जेष्ठ २०८२

प्रा.डा.शिवशरण महर्जनले जीवनमा लामो समय वामपन्थी राजनीति गरे । उनले आफ्नो लामो वामपन्थी राजनीतिक जीवनमा पदमरत्न तुलाधरदेखि मदन भण्डारीलाई निर्वाचित गर्न अहोरात्र खटे । प्रजातान्त्रिक रगत नसा नसामा प्रवाहित भएकोले, पञ्चायतकालमा पनि साहसपूर्वक नेपालभाषा आन्दोलन, सामाजिक सेवा र वाम आनदोलनमा सक्रिय भएर २०३६ सालको जनमत संग्रहमा बहुदलमा भोटिङ्ग गर्नका लागि लबिङ गरे । पेशाले प्राध्यापक भए पनि आस्थाले बामपन्थी भएको हुनाले, आन्तरिकरुपमा कहिले चौथो महाधिवेशन, कहिले एकता केन्द्र, कहिले स्वतन्त्र वाम त माओवादीसँग उनको आफनो आस्था जोड्न पुग्यो ।

२०३६ सालपछि देशमा भएका हरेक आन्दोलनमा प्रत्यक्ष—अप्रत्यक्षरुपमा आफ्नो तनमन जोडयो । प्रजातान्त्रिक उत्सर्गको उपज, कालोपाटी साक्षी भएर, विश्वविद्यालयकै अडियटरीम हलबाट गिरफतारी दिएर एक दिन कैद भएको कालो स्मरण उनमा छ । २०३८ सालको आम चुनाव बहिस्कारको क्रममा कीर्तिपुरडाँडाँको नेतृत्व गर्नेक्रममा धरपकड हुँदा एक हप्ता भन्दाबढी भूमिगत भएको स्मरण पनि उनमा छ ।

राजनीतिसँग–सँगै आफ्नो समुदायको विकासको लागि गरेको योगदानको फेहरिस्त पनि लामै छ । कीर्तिपुरको राजनैतिक, सामाजिक, शैक्षिक, खेलकूद आदिमा लागिरहेको बेला समुदायमा सामुदायिक शिक्षाको उपलब्धता हुनुपर्छ भनेर केही जागरुक साथीहरु मिलेर कलेजको स्थापना गर्नुपर्छ भन्ने अभियानमा लागे । तर पछि जागिरको सिलशिलामा काठमाडौं वाहिर गए । त्यहि समयमा कीर्तिपरका केहि जागरुक शिक्षा अनुरागीहरु र त्रिभूवन विश्वविद्यालयका केहि प्राध्यापक साथीहरुको पहलमा कीर्तिपुरमा ‘देउराली कलेज’को शाखा स्थापना गरीसकेका थिए । तर शिक्षकहरुलाई तलब खुवाउन स्रोत थिएन । क्याम्पसमा आर्थिक संकट भएर शिक्षकलाई तलबै खुवाउन नसकेपछि, तत्कालै चन्दा उठाएर र ढुकुटी चलाएर भएपनि शिक्षकलाई तलव खुवाएको स्मरण गर्छन् उनी । यसरी ढुकुटीको पैसाले शिक्षकहरुको तलब खुवाएको कलेज अहिले आएर कीर्तिपुरमा ‘शहीद स्मारक कलेज’को नाममा प्रतिष्ठित छ ।

विकासको भोक यतिले मात्र शान्त भएन । कीर्तिपुरवासीको यात्रा सहजीकरणको लागि उनकै नेतृत्वमा ‘कीर्तिपुर यातायात कम्पनी’ ल्याए । कीर्तिपृुरमा सहकारीको विकास गर्नको निम्ति ‘कीर्तिपुर बहुउद्देश्यीय सहकारी’ ल्याए । दुईदुई पटक आफै अध्यक्ष पनि कुशलतापूर्वक चलाए । प्लान इन्टर नेशनलको सहयोगमा सीम भ्mववाहिटी खानेपानी योजना संचालन, मंगल मा.वि. भवन, चिथुविहार सामुदायिक भवन निर्माणमा नेतृत्वदायिक भूमिका खेले । यसरी कीर्तिपुरको खानेपानी, ढलनिकास, शिक्षा, यातायात, सहकारीलगायत अनेकन सामाजिक काममा अहोरात्र खटे र परिवर्तनको सक्दो इँटा थपे ।

प्रा.डा.शिवशरण महर्जन प्रभातकालीन भ्रमणमा निस्कँदा उपत्यकाका विभिन्न डाँडाहरुमा पुग्छन् र त्यहाँबाट हेर्छन उपत्यकाका फाँटहरु तथा तिनै डाँडाबाट देखिने उपत्यकाका विभिन्न शहरका मुखाकृतिहरु । उनको मनमा त्यो बेला हठात एउटा कुराले च्वास काँडाजस्तै बिझाउँछ । त्यो के हो भने अठाइस वर्षअघि नै नगरपालिका भएर पनि कीर्तिपुरको विकासमा सुस्तता । कीर्तिपुर भन्दापछि नगरपालिका भएर पनि अरु नगरको विकासमा घम्साघम्सी तर कीर्तिपुर अझै यथास्थितिको बर्को ओढेर धुलो उडाउँदै गरेको देख्दा सारै मन खड्किन्छ । यसैकारण आफ्नो नगरको विकासको सुस्ततालाई तोडने मनमनै अठोट गरेर प्रष्ट आफनो भिजनसहित २०७९ र २०८१ को निर्वाचनमा मेयरको चुनावमा दुईपटक होमिए । तर दुबैपटक जनताबाट प्रयाप्त भोट नपाए पनि ‘हामी जे छौँ, त्यस्मा सन्तुष्ट छा’ैँ भनी जनमतलाई कदर गर्दै उनको मन स्तब्ध छ अचेल । तर, २०८४ को चुनावमा भने उनी मेयर पदमा आशावादी छन् किनभने अरु ठूला दलहरुको जनमत पुडकिँदै जाँदा कीर्तिपुर नगरपालिकामा आफ्नो दलको जनमत अग्लिँदै गइरहेको छ ।

आज भन्दा ६८ वर्षअघि कीर्तिपुरमा जन्म लिएका प्रा.डा.शिवशरण महर्जनको पृष्ठभूमि हेर्दा उनी सम्पन्न परिवारको हो कि जस्तो देखिन्छ । सामान्य गरिब कृषक परिवारमा जन्म लिएका शिवशरण महर्जन अरु कीर्तिपुरवासी जस्तै सामान्य बाल्यकाल बिताएका एक कीर्तिपुरबासी नै हुन् । बुबा पूर्णलाल महर्जन सडक विभागमा सिकर्मीको नाइके हुनुहुन्थ्यो । उनी सिकर्मी काम गर्ने बुबासँगै लागेर ८, ९ कक्षा पढ्दापढदै मिनपचास बिदामा धोबीखोलाको पुल बनाउन गएको दिनलाई आफ्नो जीवनको अविस्मरणीय क्षण सम्झन्छन् । त्यसैको प्रभावस्वरुप, आजसम्म पनि आफ्नो घरको फर्निचरमा टालटुल गर्नुपर्यो भने आफ्नै कर्मशील हातहरु नै चलाउँछन् । परम्परागत श्रमतिर हेर्दा, विस्मृत हुन्छन् आफ्ना विश्वविद्यालयका डिग्रीहरु । उनी त्यही विरासतको श्रममा दिनभरि रमाउन सक्दछन् ।

बाल्यकालदेखि नै सामाजिक सेवाको भावना रगतमै बगेको थियो । फलस्वरुप, कीतिृपुर माध्यमिक बिद्यालयमामा कक्षा नौ पढदा नै ‘चारपाते क्लव’को सभापति भएर घरेलु तालिम आफूले लिएर अरुलाई त्यही तालिम दिन थाले । संयुक्त रुपमा धान र मकै रोपाईँ गरेर कीर्तिपुरमा कृृषि क्रान्ति गर्न थाले । बि.स. २०३० सालतिर ‘नविन पुस्कालय’को स्थापनाको निमित अथक मेहनत गरे । स्थापित पुस्तकालयले साहित्यिक र सांस्कृतिक गतिविधिहरु गर्माएपछि कीर्तिपुरमा साहित्यिक पठनपाठनमा पनि निकै ठूलो सकरात्मक परिवर्तन आयो । त्यही कालको सेरोफेरोमा सानैदेखिको साहित्यिक झुकावलाई तिर्खादै लेख्न थाले निवन्ध र लेखरचनाहरु । २०३६ सालको विद्यार्थी आन्दोलनमा आउँदासम्म कीर्तिपुरमा साहित्यिक, राजनैतिक, साँस्कृतिक, भाषिक चेतनाको स्तर निकै अग्लाइसकेको थियो । त्यसमा पनि उनको भूमिका गहन थियो ।

त्यति मात्र होइन, उनी सानैदेखि मेहनती थिए । पाँच छ कक्षा पढ्दादेखि नै त्रिभूवन विश्वविद्यालयका भवनहरु बन्दा सिमेन्त घोल्नेदेखि लिएर, इँटा ओसारेर ज्याला थाप्थे । संयोग नै भन्नुपर्छ, कालान्तरमा, सानोमा आफ्नै पसिनाले सिंचेको विश्वविद्यालयको उनी प्रोफेसर बने । प्रोफेसरसम्मको बाटो पनि त्यति सहज थिएन । सेवा आयोगमा उपप्राध्यापकमा वैकल्पिकमा नाम निस्कियो । केही समय मासिक ज्यालादारीमा प्राध्यापन पनि गरे । जस्को ठाउँमा काम गरेको हो उनी फर्केर आएपछि उनको पद खोसियो । स्कूलमा स्थायी जागीर छोडेर गएको क्याम्पसबाट चक र डस्टर खोसियो । त्यही बेला आफनो वैकल्पिक उम्मेदवारमा स्थायी उममेदवारमा नाम रहेको जिकिरसहित डिन कार्यालय गुनासोसहित गए । डीनले पनि एउटा प्रस्ताव राख्यो — नेपालगञ्ज जानेभए स्थायी जागिर दिने । जागिर गुमाएको चोट थियो, उनले नेपालगञ्जको तातोलाई सहर्ष स्वीकार गरे । पहिलोपटक काठमाडौँबाहिर प्राध्यापनको सिलसिलामा जाँदा आन्तरिक टर्मिनलमा जानुपर्ने, अन्र्तराष्ट्रिय टर्मिनलमा जाँदा संयोगले संस्कृतिविज्ञ डोरबहादुर विष्टसित भेट भएछ । उहाँले टर्मिनलको भिन्नता औल्याएपछि बल्ल आन्तरिक टर्मिनलमा आएर जीवनमा पहिलोपटक नेपालगञ्जको प्लेन चढेको किस्सा पनि कम रोचक छैन । यसरी सुरु भयो प्राध्यापनको यात्रा ।

क्याम्पस जीवनको सुरुवातमा घरेलु कपडा उद्योग चलाउन दशहजार रुपैयाँ बैंकमा ऋण लिन चल्ती खाता खोल्नसमेत दुई सय रुपैँया नभएर अरुको गोजीबाट चलाएका प्रा.डा. शिवशरण महर्जनलाई अझै सम्झना छ । तत्काल शिक्षण तथा प्राध्यापनसँगै पारिवारिक व्यवसयमा पनि आफ्नो योगदान दिँदै रहयो । सुरुमा १० लाख बैंकबाट ऋण लिएर चलाए, गलैँचा व्यवसाय । आफू काठमाडौं बाहिर, घरमा परिवारका अन्य  दाजुभाईबाट व्यवसाय चलिरहेको थियो । त्यता काठमाडौंमा प्राविधिक कारणले व्यवासायमा समस्या आएर घर नै लिलामीमा जाने भएपछि, ताहाचल कलेजमा सरुवा भएर आए र व्यवसायको गिर्दो साखलाई उकासे । आज आएर उनलाई गाँस, बास र कपासको कुनै समस्या छैन । एक छोरा बेलायत, अर्को अमेरिका र छोरी पनि इन्जिनियर भएर गैरसरकारी संस्थामा कर्म गरेर बसेका छन । तैपनि उनको जीवनशैली साधारण देखिन्छ ।

आफ्नो पुरै घरलाई महिला छात्रावास बनाएका प्रा.डा. शिवशरण महर्जनको जीवन अहिले रिटाएर छ । रिटाएर भए पनि बौद्धिकता रिटाएर भएको छैन । राजनीतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति सकेसम्म टुटाउँदैन । मंगल बहुमुखी क्याम्पसको संस्थापक अध्यक्ष, एउटा प्रतिस्थित निजी मा.वि. अध्यक्ष र धेरै संस्थाहरुमा सल्लाहकार तथा सदस्य रहेका उनी थोरै मतले चुनाव हारेको दुखेसोसहित आज पनि भन्छन्, ‘८४ को निर्वाचनमा कीर्तिपुर नगरपालिकाको निर्वाचनमा दूरदर्षी र विकासमन भएको सही ब्यक्ति चुनिनुपर्छ । तर,  आमनागरिकमा ‘माओवादीबाट फेरि एकपटक इमान्दार छविका प्रा.डा. शिवशरण महर्जनको उम्मेदवारी परे, अबिर उछाल्दा भयो’ भन्नेखालको टिप्पणी सुन्दा जीवनमा कमाएको वास्तविक धन यही रहेछ भनेर उनको मनमा प्रफुल्लता भने छताछुल्ल हुन्छ ।