बिवाहमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा ५ जना घाइते

शनिबार, १० जेष्ठ २०८२

काठमाडौँ – बिवाहमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा ५ जना घाइते भएका छन् । मोरङको धनपालथान गाउँपालिका–६ कदमहास्थित भजनलाल सहनीको छोरीको बिहेमा दोहोरो झडप हुँदा ३ जना जन्ती पक्ष र २ जना माइती पक्ष घाइते भएका हुन् ।

झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर घर फर्किएका छन् । अत्यधीक मदिरा सेवनले विवाद हुँदा झडप भएको मोरङ प्रहरीले जनाएको छ ।

प्र्हरेका अनुसार भजनलाल सहनीको छोरीको बिहे चलिरहेका बेला शुक्रबार राति ११:३० बजेतिर झडप भएको थियो।   बिहे विधि चलिरहेका बेला डिजे बजाएर नाच्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो।

झडपमा दुवै पक्षका घाइते भएका छन्। तीमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ।

तोडफोडमा उत्रिएकाहरुले बिहेको मण्डप नै भत्काइदिएका छन् । झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए। प्रहरीका अनुसार झडपले बिहे स्थल तनावग्रस्त भएपछि तत्कालै बेहुली अन्माएर पठाइएको थियो।

बेहुली लिएर फर्किएको जन्तीको टोलीलाई प्रहरीले स्कर्टिङ नै  गर्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ।