बत्ति गयो भन्दै सामाजिक संजालमा लेख्नेलाई सरकारले कारवाही गर्ने

सोमबार, १२ जेष्ठ २०८२

काठमाडौँ – सरकारले बत्ति गयो भन्दै सामाजिक संजालमा हल्ला गर्ने व्यक्तिलाई कारवाही गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत आपूर्ति भइरहेको बेलामा पनि लोडसेडिङ भयो भन्दै हल्ला गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

हावाहुरी, चट्याङजस्ता प्राकृतिक विपद्का कारण कतै विद्युत अवरुद्ध हुनु समान्य भएको भन्दै त्यसलाई लोडसेडिङका रुपमा नलिन आग्रहसमेत गरेका छन् । खड्काले नेपालमा आवश्यकताअनुसार विद्युत आपूर्ति भइरहेको र विद्युत कटौती अभावका कारण नभई विपद्जन्य घटनाले निम्त्याएको अवरोध भएको दाबी गरेका छन्।

आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखा अन्तर्गतका विभिन्न स्थानमा देखिएको विद्युत आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे स्थलगत जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले यस्तो बताए। उनले सरकार उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत सेवा पाऊन् भन्ने चाहनाअनुसार काम गरिरहेको दाबी गर्दै कृत्रिम हल्ला र भ्रम फैलाएर बत्ती नभएको जस्तो अवस्था सिर्जना गर्न खोजिएको बताए।

‘बत्ती गइरहेको कुरा हामीसँग विद्युत कम भएर होइन, हावाहुरी, चट्याङजस्ता प्राकृतिक विपद्का कारण कतै अवरुद्ध हुन पुग्दा बत्ती रोकिने विषय हो,’ मन्त्री खड्काले भने, ‘यस्ता घटना विगतमा पनि हुन्थे, भोलि पनि मानिसको काबुबाहिरको अवस्थामा हुन सक्छन्। त्यस्तो अवरोधलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने प्रयत्न भइरहेको छ।’

नेपालले हाल विद्युत आयात गर्न नपरेको र स्वदेशकै उत्पादन बढी भइरहेको जिकिर गर्दै उनले विगतको भन्दा राम्रोसँग विद्युत आपूर्ति भइरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न आम उपभोक्तालाई आग्रह गरे।

‘कृत्रिम कुराहरू प्रचार प्रसार गरिएको पाइन्छ, त्यस्तो अवस्था होइन। हामीले अहिले आयात गरेका छैनौँ, हाम्रो विद्युत बढी भइरहेको छ,’ उनले अगाडि भने, ‘आवश्यकताअनुसारको विद्युत सप्लाइ गर्न सकिरहेका छौँ। उपभोक्ता, देशवासीलाई आग्रह गर्दछु, हिजोभन्दा आज राम्रोसँग विद्युत सप्लाई भइरहेको छ। हल्लाका पछि नलाग्नुहोला।’