काठमाडौँ छिर्ने मुख्य नाका थप ५ दिन बन्द
काठमाडौँ – काठमाडौं छिर्ने मुख्य नाका थप ५ दिन बन्द हुने भएको छ । थानकोटको नागढुंगा–नौबिसे सडक खण्ड मर्मत तथा सुधार कार्य जारी रहेकाले सोमबारदेखि शुक्रबारसम्म बन्द हुने भएको हो ।
नागढुंगा–नौबिसे सडक योजनाका अनुसार भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ । यसअघि जेठ १० देखि आजसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्दको सूचना जारी गरिएको थियो । तर, मर्मत जारी रहेकाले पाँच दिन थप्नु परेको बताइन्छ ।
तोकिएको समयमा साना तथा मझौला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ । सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशुली ९विदुर०–गल्छी सडक प्रयोग गर्न सकिने भन्दै वैकल्पिक मार्गको जानकारी दिइएको छ । सडक बन्दको समयमा दमकल, एम्बुलेन्स र सुरक्षा निकायजस्ता अत्यावश्यक सवारी साधनको आवतजावत भने यथावत रहने छ ।