नेकपाले गर्यो तीन जना नेतालाई पार्टीबाट निष्कासित

बुधबार, २८ जेष्ठ २०८२

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले तीन नेतालाई कारवाही गरेको छ । नेकपाले जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न भएको भन्दै पार्टी जिल्ला कमिटी सदस्य तथा आर्थिक विभाग प्रमुख नारायण, सदस्यहरु किरण दिपकलाई कारवाही गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी सोनाम सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अपचलन, विचारहीन गुटबन्दी, संगठन विरोधी गतिविधि गरेको आरोप लगाउँदै पार्टीबाट निष्कासन गरिएको जानकारी गराएका छन् ।

आर्थिक विभागमा रहेका नारायणलाई पहिलेदेखि नै पार्टी विधि पद्धतिविपरित पार्टीको नाममा विभिन्न निकायहरूसँग आर्थिक संकलन गरी चरम हिनामिना गरेको प्रमाणित भएपछि उनलाई पहिल्यै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । अन्य १२ जनाको राजनीतिक स्वतन्त्रता हनन् हुनेगरी किर्ते हस्ताक्षर भएको भन्दै नेकपा सिन्धुपाल्चोक जिल्लाले अन्य सदस्यहरुको जानकारी, सहमति वा वैचारिक निर्णय नरहेको पुष्टि भइसकेको जनाएको छ ।