ग्वार्को फ्लाई ओभर आजदेखि सञ्चालनमा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
काठमाडौँ – असार स्निर्माणकार्य सकिएपछि शुक्रबारदेखि ललितपुरस्थित ‘ग्वार्को फ्लाई ओभर’ सञ्चालनमा आउँदै छ । सडक विभागको आयोजनामा शुुक्रबार अपराह्न चार बजे परियोजनापरिसरमा औपचारिक समारोह गरेर प्रधानमन्त्री केपी ओलीबाट ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि फ्लाई ओभरमा सवारीसाधनलाई प्रवेश गर्न हरियो ट्राफिक लाइट बालिनेछ । त्यसपछि फ्लाई ओभरमा औपचारिक रूपमा सवारीसाधन आवतजावत हुने सडक विभागका प्रवक्ता इ। प्रभावकुमार झाले बताए ।
‘शुक्रबार अपराह्न चार बजे परियोजनापरिसरमै एक औपचारिक कार्यक्रमबिच प्रधानमन्त्री केपी ओलीले फ्लाई ओभरको उद्घाटन गर्नुहुने कार्यक्रम छ । उद्घाटनपछि फ्लाई ओभरमा सवारीसाधन आवतजावत गर्न सक्नेछन्,’ उनले बताए ।
सञ्चालनमा आउन लागेको फ्लाई ओभर नेपालकै पहिलो हो । योबाहेक नागढुंगा सुरुङ र काठमाडौं–तराईरमधेश द्रुतमार्गमा पनि फ्लाई ओभर निर्माणाधीन अवस्थामा छ । यसमा र्याम्प (फ्लाई ओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको विशेष संरचना) र फ्लाई ओभर अर्थात् सुपर स्ट्रक्चर (पुल) नै मुख्य संरचना हुन् । ‘सबै काम सकिएको छ । ग्वार्को फ्लाई ओभर सञ्चालनको तयार छ,’ प्रवक्ता झाले बताए ।