संसदको लफडा छल्दै रास्वपाका ५ प्रभावशाली सांसदले देश छोडे

आइतबार, ८ असार २०८२

काठमाडौं – संसदको लफडा छल्दै रास्वपाका ५ प्रभावशाली सांसदले देश छोडेका छन् । पार्टी कार्यवाहक सभापति डीपी अर्याल, डा. तोसिमा कार्की, गणेश पराजुली, हरि ढकाल र सोविता गौतमले विभिन्न मितिमा देश छोडेका हुन् ।

अर्याल पार्टी कामका लागि कतार पुगेका छन् भने तोसिमा अमेरिका पुगेकी छिन् । पराजुली अष्ट्रेलियामा रहँदा हरि ढकाल र सोविता गौतम छिमेकी देश भारत पुगेका छन् ।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार संसद् अवरोध प्रयास गर्दै आएको छ । तर, रास्वपाको विरोधबीच पनि सभामुख देवराज घिमिरेले संसदीय कारबाही अगाडि बढाइरहेका छन् ।

आज पनि रास्वपा सांसदहरू संसदीय प्रक्रियामा सहभागी छैनन् । बैठक सुरुभएदेखि नै उनीहरू वेल अगाडि आएर बसिरहेका छन् । तर, आज रास्वपा सांसदहरूको उपस्थिति पातलो देखिन्छ । पार्टी कार्यवाहक सभापति डीपी अर्यालसहितका केही प्रभावशाली सांसदहरू उपस्थित छैनन् ।

रास्वपा स्रोतका अनुसार अहिले पार्टीका कम्तीमा ५ जना सांसद विभिन्न कार्यक्रम बनाएर विदेश सयरमा हिँडेका छन् । पार्टीको सदन प्रतिरोधलाई कमजोर बनाउने गरी एकसाथ विदेश लर्को लागेको भन्दै स्रोतले असन्तुष्टि प्रकट गर्‍यो ।