प्रहरीको डिइटी आवर घट्यो

आइतबार, २९ असार २०८२

काठमाडौँ – प्रहरीको डिइटी आवर घटेको छ । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाको प्रहरी वृत्त र प्रभाग इन्चार्जको ‘ड्युटी आवर’ (कार्य समय) घटाएको हो । प्रहरी वृत्तमा इन्चार्ज हुने डीएसपी र प्रहरी प्रभागको कमान्ड गर्ने इन्स्पेक्टर यसअघि राति १२ बजेसम्म फिल्डमा खट्नुपर्ने व्यवस्था थियो । अब वृत्तका डीएसपी र प्रभागका इन्स्पेक्टर राति १० बजेसम्म मात्र फिल्डमा हुनुपर्नेछ ।

ड्युटी आवर घटाउने निर्णय कार्यान्वयन गराउन उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुर परिसरलाई सर्कुलर गरिसकेको छ । असार २३ मा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बसेको प्रहरी वृत्त, प्रभाग तथा ट्राफिक प्रहरी प्रमुखहरु र अपरेसन कमाण्डरहरु समेतको छलफलपछि सो निर्णय गरिएको हो ।

भीभीआईपीको सवारी हुँदा ‘रोड प्रोटेक्सन’ ड्युटीमा डीएसपीहरुलाई परिचालन नगर्ने निर्णय गरिएको छ । रोड प्रोटेक्सनमा अव इन्स्पेक्टर वा जुनियर प्रहरी अधिकृतहरू मात्र खटिन्छन् । उपत्यका प्रहरी कार्यालयले पठाएको सर्कुलरमा भनिएको छ, ‘भीभीआईपीहरुको रोड प्रोटेक्सन सम्बन्धमा सम्बन्धित एरियाको रुटमा पर्ने प्रहरी युनिट बाहेक अन्य युनिटबाट थप मद्दत खटिँदा अवस्था हेरेर इन्स्पेक्टर तथा जुनियर अधिकृतको कमान्डमा ड्युटी खटाउने ।’

ट्राफिक प्रहरीका युनिट प्रमुखहरूले पिक आवरमा (बिहान ९ बजे) सडकमा निस्किएर अनुगमन गर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । अब सम्बन्धित युनिटको अपरेसन कमान्डरले अनुगमन गर्ने निर्णय गरिएको उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू बताउँछन् ।

उपत्यका प्रहरी कार्यालयको नयाँ कार्ययोजना अनुसार रात्रिकालीन चेकिङ जनपद र ट्राफिक प्रहरीले संयुक्त रूपमा गर्नुपर्ने छ । सर्कुलरमा भनिएको छ, ‘रात्रिकालीन चेकिङ जनपद प्रहरी र ट्राफिक प्रहरी सम्मिलित भई संयुक्त रूपमा चेकिङ गर्ने ।’