रवि लामिछानेको पक्षमा गण्डकी प्रदेशबाट आयो हस्ताक्षरको बाढी
काठमाडौँ – रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा गण्डकी प्रदेशबाट हस्ताक्षरको बाढी आएको छ । ८४ दिन गण्डकी प्रदेशको राजधानी (कास्की प्रहरीको हिरासत) पोखरामा बसेका लामिछानेको पक्षमा त्यही प्रदेशबाट २ लाख ६० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् ।
रविलाई सरकारले प्रतिशोधका आधारमा दुःख दिएको भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा २० लाखबढी हस्ताक्षर गरेको रविका सहयोगी प्रमोद न्यौपानेले बताएका छन् । उनका अनुसार २० लाख हस्ताक्षर संकलन हुँदा गण्डकीका जनताले सबैभन्दा धेरै हस्ताक्षर गरेका छन् । सबैभन्दा कम हस्ताक्षर सुदूरपश्चिम प्रदेशबाट आएको न्यौपानेले बताए। उनका अनुसार उक्त प्रदेशमा २५ हजार हाराहारीमा मात्रै हस्ताक्षर गरिएको छ।
‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘अझै बढेको हुन सक्छ। यो मैले दिएको तथ्याङ्क तीन दिन अगाडिको हो। हस्ताक्षरका सबै फारमहरू सङ्कलन गरेर अद्यावधिक गर्न समय लाग्ने हुन्छ। अभियान जारी छ, अद्यावधिक पनि जारी छ।’
उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘बाँकी हस्ताक्षर विदेशमा र केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन्।’
हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिन लम्ब्याउने रास्वपाले लक्ष्य राखेको छ।