नेपालको स्याटेलाइट पनि अन्तरिक्षमा प्रक्षेपण हुने

बुधबार, ३२ असार २०८२

काठमाडौँ – नेपालले अन्तरिक्षाको क्षेत्रमा ठूलो सफलता हात पारेको छ । चितवनका चेपाङ समुदायका विद्यार्थीले बनाएको स्याटेलाइट इतिहास रच्दै पहिलो पटक अन्तरिक्षमा जाने भएको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालको पहलमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी शीतल प्रजा, सुहान प्रजा, सजिना चेपाङ, एलिसा प्रजा, बिनामाया प्रजा, शिवकुमार चेपाङ, सुमिना तितुङ, रानासिंह चेपाङ र अमृत राजाले बनाएको स्याटेलाइट १५ सेप्टेम्बरमा अन्तरिक्षमा प्रक्षेपण हुने छ ।

चितवनको नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीले ‘स्लिपर्स टु स्याट’ नामक स्याटेलाइट बनाएर नेपालको अन्तरिक्ष अनुसन्धानमा ऐतिहासिक कदम चालेका हुन् । ‘स्लिपर्स टु स्याट’ परियोजनामार्फत यी किशोर किशोरीले सीमित स्रोतसाधन र अथक मिहिनेतको बलमा बनाएको स्याटेलाइट १५ सेप्टेम्परमा छिमेकी मुलुक चीनबाट प्रक्षेपण गर्ने तयारी छ ।

‘स्लिपर्स टु स्याट’ परियोजना २०८१ मा सुरु भएको थियो । अन्तरिक्ष प्रतिष्ठान नेपालको पहलमा चितवनको नवोदय र अन्तोदय माध्यमिक विद्यालयबाट १२० जना विद्यार्थी तालिमको लागि छनोट भए । ७ दिनको तालिममा उनीहरूलाई आधारभूत इलेक्ट्रोनिक्स, कम्प्युटर सञ्चालन र कोडिङ सिकाइयो । तालिममा विद्यार्थीलाई इलेक्ट्रोनिक्सका सामान्य सामग्री, क्यामेराबाट फोटो खिच्ने, चित्र बनाउने र कोडिङका आधारभूत ज्ञान सिकाइयो ।

कक्षा ८ र ९ मा अध्ययनरत यी विद्यार्थीमध्ये ९ जना स्याटेलाइट निर्माणको मुख्य जिम्मेवारीका लागि छानिए । उनीहरूको चयन तालिममा देखाएको सक्रियता र सिकाइको आधारमा भएको थियो । सम्बन्धित विद्यालयले यसमा धेरै सहयोग गरेको ‘स्लिपर्स टु स्याट’का प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारी बताउँछन् ।

कम्प्युटर चलाउन नजान्ने विद्यार्थीलाई लिएर स्याटेलाइट बनाउने कुरा सोचेजस्तो सहज थिएन । यो यात्रा निकै चुनौतीपूर्ण रह्यो । चेपाङ विद्यार्थीले स्कुलको पढाइ, गृहकार्य र परियोजनाको जिम्मेवारीलाई सन्तुलन गर्नुपर्थ्यो । विद्यालय तहमा चलेको यस्तो परियोजना र नियमित पढाइलाई अगाडि बढाउन पनि सोचजस्तो सहज थिएन । बिहान स्कुलमा नियमित कक्षा पढ्थे, दिउँसो ४ः३० देखि ६ बजेसम्म स्याटेलाइटको काम गर्थे । बेलुका स्कुलका गृहकार्य सक्थे ।

स्याटेलाइटको काममा यी ९ जना विद्यार्थीलाई सघाउन ६ जना मेन्टर थिए । उनीहरूले स्याटेलाइटका विभिन्न मिसनमा काम गरे । विद्यार्थी अमृतका अनुसार स्याटेलाइटमा चारवटा मुख्य मिसन छन् । पहिलो, क्यामेरा मिसन जसले पृथ्वीको सतहमा पानीको मात्रा र प्राकृतिक अवस्था अध्ययन गर्न सहयोग गर्छ ।

दोस्रो, इपिडियम मिसन जसले भूकम्प आउनुभन्दा केहीअघि पृथ्वीको सतहमा हुने ससाना हलचल पत्ता लगाउँछ । तेस्रो, एडिसीएस (एटिट्युड डिटर्मिनेसन एन्ड कन्ट्रोल सिस्टम) जसले चुम्बकको प्रयोगले स्याटेलाइटको दिशा नियन्त्रण गर्छ । र, चौथो, डिजिटिबिटर जसले सूचनाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्छ ।

यी मिसनहरूका लागि स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, इलेक्ट्रोनिक पावर सिस्टम र कम्युनिकेसन सिस्टमजस्ता ‘बस सिस्टम’हरू राखिएको छ । यहीबीचमा विद्यार्थीले थ्रीडी प्रिन्टिङदेखि कोडिङसम्मका प्राविधिक कामहरू सिके । ‘हामीले विस्तारै कोडिङ र थ्रीडी चित्र बनाउन सिक्यौं,’ अमृतले भने, ‘सुरुमा सामान्य चित्र बनायौं, पछि थ्रीडी डिजाइनमा काम गर्यौँ ।’

यसरी १४ महिनाको अथक प्रयासपछि १५ असार २०८२ मा स्याटेलाइट निर्माण सम्पन्न भयो । यो स्याटेलाइट अब ग्राउन्ड स्टेसनमार्फत सञ्चालन हुने र डाटा संकलन गर्ने चरणमा छ ।