बैंकको छापदेखि विश्वविद्यालयको सर्टिफिकेटसम्म नक्कली बनाउने खड्का पक्राउ

शुक्रबार, २ साउन २०८२

काठमाडौं – राजधानीको नयाँ बानेश्वर बस्ने सफराज खड्कालाई विभिनन् सरकारी कार्यालय र बैंकहरूको छाप तथा विववरण किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं-१० बस्ने ५२ वर्षीय खड्काले यस्तो कार्य गर्छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा महाराजगञ्ज चोक नजिकबाट फेला परेका थिए । उनलाई पक्राउ गरेपछि कोठा खानतलासी गर्दा त्रिभुवन विश्वविद्यालय, सीटीईभीटी, एचएसईबी र एनईबीको होलोग्राम समेत भेटिएको थियो ।

उनको साथबाट होलोग्रामसहित विभिन्न सरकारी कार्यालय, जिल्ला अदालत, बैंक तथा वित्तीय संस्थाको रवर स्ट्याम्प, विभिन्न शैक्षिक संस्थाको प्रमाणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको बैंक स्टेटमेन्ट, प्रिन्टर, सीपीयू, स्क्यानर, रबर स्ट्याम्प बनाउने मेसिन र मोबाइल बरामद गरिएको छ । खड्काको स्थायी घर झापा जिल्ला धरमपुर हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा खड्काले विगत २ वर्षदेखि आफ्नै निजि पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय, मालपोत कार्यालय, नापि कार्यालय, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ला अदालत तथा राजनैतिक पार्टीहरुको समेत नक्कली छाप, लेटर प्याड तथा विभिन्न बैंक तथा वितिय संस्थाहरुको लेटर प्याड, बैंकिङ कारोवारको विवरण र नक्कली रबर स्ट्याम्पसमेत तयार गर्ने गरेको पाईएको थियो ।

उनले ह्वाट्स एप तथा भाइबर जस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अडर लिई किर्ते गर्ने गरेको खुलेको छ । खड्काविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।