ओली सरकारको उपहार, विकास गरेको अभियोगमा नगरपालिकाका मेयरलाई पक्राउ पुर्जी ?
राजविराज – सप्तकोशी नगरपालिकाका मेयरसहित ४ जनालाई विकास गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । डिभिजन वन कार्यालय सप्तरीले वन क्षेत्रमा अनधिकृत रुपमा नाला (ढल निकास मार्ग) निर्माण गरेको आरोपमा नगरपालिकाका मेयर उत्तमकुमार शर्मासहित ४ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
राष्ट्रिय वन क्षेत्रभित्र अनधिकृत रुपमा जेसिभी प्रयोग गरेर ९५ मिटर लम्बाई र करिब २ मिटर चौडाईको नाला निर्माण गरेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको डिभिजन वन कार्यालयका प्रमुख धीरेन्द्रप्रसाद सिंहले जानकारी दिए।
नाला निर्माण सुरु गरेपछि लिखित रूपमा गरिएको आग्रह समेत वेवास्ता गरेपछि पक्राउ पुर्जी जारी गर्नुपरेको उनको भनाई छ।
वन संरक्षणको जिम्मेवारी पाएको वन कार्यालय र कर्मचारी समेतलाई बेवास्ता गरेपछि कानुनले दिएको अधिकार प्रयोग गरी पक्राउ पुर्जी जारी गर्नुपरेको उनको भनाई छ ।
मेयर शर्माले पनि वन कार्यालयले पक्राउ पुर्जी जारी गरेको विषय पुष्टि गरेका छन् । वन क्षेत्र भएर निस्कने खहरे खोला नियन्त्रणका लागि सुरु गरिएको नाला निर्माणको काममा वन कार्यालयले अवरोध गरेको उनको जिकिर छ। कार्यापालिकाको निर्णयअनुसार करिब ६ लाखको लागतमा नगरपालिकाले उपभोक्ता समितिमार्फत् नाला निर्माणको काम गरिरहेको उनको भनाइ छ।
वडाअध्यक्षलाई दोहोर्याएर पक्राउ पुर्जी
डिभिजन वन कार्यालय सप्तरीले पक्राउ पुर्जी जारी गरेका मध्ये वडा नम्बर १ का वडाध्यक्ष नारायण आचार्य निर्माण समितिका पदाधिकारी हुन्।
वडाध्यक्ष आचार्य विरुद्ध दोहोर्याएर पुर्जी जारी गरिएको हो । यसपटक राष्ट्रिय वनको भू–उपयोग नीतिको अस्पष्टताका कारण पक्राउ पुर्जी जारी गरिएका आचार्य विरुद्ध यसअघि पुष ४ गते पनि पक्राउ पुर्जी जारी भएको थियो ।
बालुवा–गिट्टी तस्करी गरेको आरोपमा आचार्य र उनका छोरा सुशील आचार्य विरुद्ध पक्राउ पुर्जी जारी भएको वन कार्यालयले जनाएको छ । गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न आचार्यको ना ४ त १८४५ नम्बरको ट्रयाक्टर खोलाबाटै पक्राउ परेको थियो।
तर, प्रहरी र वन कर्मचारीलाई अभद्र व्यवहार गरी आचार्यले ट्रयाक्टर लिएर गएको र त्यसपछि फरार भएको डिभिजन वन कार्यालय प्रमुख सिंह बताउँछन्।