ओली नेतृत्वको सरकार बनेदेखि सुन तस्करी बढ्यो
काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वमा सरकार बनेदेखि सुन तस्करी ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०८१÷०८२ मा अघिल्लो वर्षको तुलनामा करिब आधा सुन मात्र आयात भएको ।
प्रचण्ड नेतृत्वको सरकारका पालामा २ हजार ६ सय ५१.८६ केजी सुन भन्सारबाट आयात भएकोमा ओली सरकारको पालामा आधा घटेर १ हजार ३ सय ८९.५१ केजी मात्र आयात भएको छ । आयात कम भएपनि तस्करीको सुनले मार्केट पाउँदा सुनको खपत बढेको छ ।
गत वर्ष १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँको १३८९.५१ केजी सुन आयात भएको छ। यसबाट १ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ। आर्थिक वर्ष २०८०÷८१ मा २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँको २६५१.८६ केजी सुन आयात भएको थियो। त्यसबापत सरकारले ३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
तथ्याङ्क अनुसार गत वर्ष सुनका २३२ केजी गहना आयात भएको छ। गहना २ अर्ब ८१ करोड ६७ लाख ९६ हजार रुपैयाँको आयात भएको हो। आर्थिक वर्ष २०८०÷८१ मा २ अर्ब ३० करोड ५३ लाख रुपैयाँको २५७.१६ केजी सुनका गहना आयात भएको तथ्यांक छ।
सरकारले विदेशबाट पुरुषले २ तोला र महिलाले ५ तोलासम्म सुनका गहना ल्याउन सक्ने व्यवस्था गरेको छ। व्यवसायीहरुले सुनको भाउ अन्यत्र भन्दा नेपालमा महँगो भएकाले गहना ल्याउने क्रम बढेको बताएका छन्। भारतमा पनि नेपालको भन्दा ४ प्रतिशत बढी सस्तो भन्सार भएपछि सुनको गहनाको आयात बढेको व्यवसायीले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर शाक्यले सरकारको नीतिका कारण सुन आयात घटेको र गहना ल्याउने क्रम बढेको बताए। ‘सरकारले गत वर्ष सुनमा भन्सार महसुल बढायो। यसपालि विलासिता कर लगाइएको छ। यसले गर्दा सुनको किनबेच नै घटेको छ,’ शाक्यले भने, ‘नेपालमा भन्दा भारतमा सुन सस्तो छ। त्यसैले अहिले भारतबाट गहना ल्याउने क्रम बढेको छ। सरकारले यसलाई निरुत्साहित गर्न गहना आयातमा बढी भन्सार लगाउनुपर्छ।’