भ्लगर सिसन बानियाँ राष्ट्रपति रामचन्द्र पौडेलमाथि खनिए
काठमाडौं—भ्लगर सिसन बानियाँ राष्ट्रपति रामचन्द्र पौडेलमाथि खनिएका छन् । म्याट्रिक्स फाइटर नाइट टाइटल जितेर आएका मिक्स्ड मार्सल आर्ट्स फाइटर च्याम्पियन रवीन्द्र ढाँटलाई शीतल निवासमा बोलाएर अपमान गरेको भन्दै उनले राष्ट्रपतिको बिरोध गरेका हुन् । नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएका ढाँटलाई माला मात्र लगाएर सम्मान मात्र गर्नु अपमान भएको उनको भनाई छ । ‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई पुरस्कारसहित सम्मान गर्नुपर्नेमा उनको जोड छ ।
म्याट्रिक्स फाइटर नाइट टाइटल जितेर आएका मिक्स्ड मार्सल आर्ट्स फाइटर च्याम्पियन रवीन्द्र ढाँट बुधबार शीतल निवास छिरे ।
भारतको नोयडामा भएको भिडन्तमा साविक विजेतालाई हराउँदै म्याट्रिक्स फाइट नाइट टाइटल जितेर आएका उनलाई सम्मानका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएका थिए ।
उक्त टाइटल जितेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएको भन्दै पौडेलले ढाँटलाई माला लगाएर सम्मान गरिदिए ।
‘बझाङको बाघ’ उपनामले परिचित ढाँटको जितमा सम्मान जनाउँदै राष्ट्रपति पौडेलले उनलाई शीतल निवासमा स्वागत गरेका थिए। ढाँटलाई माला लगाइदिएपछि राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने पनि बताए ।
देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवम् खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने पनि पौडेलले बताएका थिए ।
‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्’, उनले भनेका थिए ।
रवीन्द्रसहित शीतल निवासमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहितका खेल पदाधिकारी पनि देखिए। तर शीतल निवासले सार्वजनिक गरेको तस्बिरमा रवीन्द्रका प्रशिक्षक दिविज पिया लामा र अर्का मेन्टर सिसन बानियाँलाई भने देख्न पाइएन । उनीहरू दुवै जना पनि रवीन्द्रलाई लिएर शीतल निवास छिरेका थिए ।
शीतल निवासमा करिब एक घण्टा व्यतित गरेपछि माला पहिरिएका रवीन्द्रलाई लिएर बाहिरिएका सिसनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
उनले शीतल निवास बोलाएर एउटा माला मात्रै लगाइदिने काम भएको भन्दै गुनासो गरेका हुन् । उक्त कार्यक्रमलाई लिएर भ्लगरसमेत रहेका सिसन बानियाँले शीतल निवासप्रति आक्रोश पोखेका छन् ।
‘रवीन्द्र ढाँटलाई राष्ट्रपति निवास पुगेर त्यहाँको गरिमा बढाइदिएकोमा धन्यवाद तर वास्तविक रूपमा भन्नुपर्दा च्याम्पियनप्रति कुनै सम्मान देखिएन। एउटा माला लगाइयो, पाँच मिनेटको टिपिकल भाषण दिइयो, फोटो र भिडियो खिचियो अनि काम सकियो’, उनले भनेका छन्, ‘हामीलाई चाहिँ ‘चिया—बिस्कुट खाएर जानुस्’ भनियो। त्यो भयानक हलमा ढाँटले एउटा कप चिया मात्र खाए। २० मिनेटसम्म सबैसँग ‘सिङ्गल’ फोटो खिचे। के यसरी सम्मान गरिन्छ राष्ट्रका च्याम्पियनहरूलाई ?’
उनले यस्ता उपाधि जित्न खेलाडीहरूले कडा मिहिनेत गर्ने गरेको पनि बताएका छन् । ‘हाम्रा केटाहरूले यति धेरै मिहिनेत गर्छन् तर पुरस्कार यस्तै हो ?’, उनले सोधेका छन्, ‘यदि तपाईंहरू च्याम्पियनको प्रचार गरेर फाइदा उठाउन चाहनुहुन्छ भने, पैसा दिनुस् , नायकहरूलाई इनाम दिनुस् ।’
बानियाँ रवीन्द्र ढाँटका पुराना साथी र उनको खेल सुरूवाती समयदेखि नै साथ दिइरहेका एक मेन्टर हुन् । रवीन्द्रलाई सिसनले डिजिटल माध्यमबाट प्रचार प्रचारदेखि प्रायोजक खोज्ने काम समेत गरिदिने गरेका छन् ।
सिसनले नै ढाँटको सामाजिक सञ्जाल व्यवस्थापन, भिडिओ प्रमोशनको जिम्मेवारी पनि सम्हालेका छन् । उनले अन्तर्राष्ट्रियस्तरमा रवीन्द्रको छवि निर्माणमा ठूलो भूमिका खेलिरहेका छन् । रवीन्द्रलाई यहाँसम्म ल्याउन प्रशिक्षक लामा र सिसन बानियाँले ठूलो मिहिनेत गरेका छन् ।
ढाँटको सफलतामा उनको जिल्ला बझाङमा उत्सव छ । बित्थडचिर गाउँपालिकाले एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। दुर्गाथली, सैपाल र तलकोट गाउँपालिकाले एक लाखभन्दा बढी दिने बचन दिएका छन् । अहिले रवीन्द्र जितको उत्सवपछि प्रशिक्षणमा फर्किसकेका छन् ।
रवीन्द्रको यो सफलताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा खुसी साटे पनि भेटेका छन् । ओली अहिले विदेश तुर्कमेनिस्तानमा छन् । त्यहीकारण सरकारले अहिलेसम्म कुनै पुरस्कार घोषणा गरेको छैन । सिसनले जस्तै अरूले पनि च्याम्पियनलाई एउटा मालामा चित्त बुझाउनु सरकारको नालायकी भएको बताएका छन् ।