भारतले नेपाललाई १५ बटा कुकुर उपहार दिने

शनिबार, २४ साउन २०८२

काठमाडौं—भारतले नेपाललाई १५ बटा कुकुर उपहार दिने भएको छ । केही समय अघि सम्पन्न दुई देशबीचको गृह सचिवस्तरीय बैठकमा भारतीय पक्षले १५ बटा तालिम प्राप्त कुकुर उपहार दिने प्रस्ताव गरेका थिए । भारतीय पक्षको उक्त प्रस्ताव पछि दिल्लीस्थित नेपाली दूतावासका एक जना कूटनीतिज्ञले ख्याल ठट्टा गर्दै उक्त प्रस्ताव स्वीकार गरेका थिए । उनले भनेका थिए ‘प्रधानमन्त्रीले त भैँसी लिएर जानु भएको थियो । हामीले अपराध अनुसन्धानको निम्ति सहयोगी सावित हुने तयारी हालतका कुकुर किन नस्वीकार्ने ?’ सो बैंठकमा सुपुर्दगी सन्धिका विषयमा पनि छलफल भएको थियो ।

प्राप्त जानकारीअनुसार ९ वर्षपछिको बैठक हुनाले धेरै विषय छलफलमा आए पनि नेपालले राखेका कुनै पनि प्रस्तावलाई भारतले विगतमा झैँ ठाडै इन्कार गरेन । भारतले निकै अघिदेखि नै गरौं भनेर नेपाललाई भन्दै आएको परस्पर कानुनी सहायता (एमएलए) सम्बन्धी सम्झौताको प्रारम्भिक खाकाउपर दुई पक्षबीच छलफल छेडिएको थियो । नेपाल र चीनबीच परस्पर कानुनी सहायतासम्बन्धी सम्झौता रहेको अवस्थामा भारत एक कदम अगाडि बढेर सुपुर्दगी सन्धि नै नगरी नछोड्ने अठोटमा लागेको हो ।

खुला सीमाका कारण उत्पन्न हुने सुरक्षासम्बन्धी विषयमाथि केन्द्रित रहेको सो बैठकमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे भने खासै चर्चा भएन । ‘अब उच्चस्तरीय भ्रमण हुँदैछ, धेरै कुराको छिनोफानो त्यहीबेला होला’, भन्नेबाहेक भारतीय पक्षले त्यसबारे थप कुनै जानकारी नदिएको सहभागीको भनाइ छ । नेपाल हुँदै तेस्रो मुलुकका नागरिक भारत छिर्न सक्ने र सीमा क्षेत्रमा शान्ति सुरक्षासम्बन्धी विषयमा प्रमुख रुपमा छलफल भएको थियो । त्यसरी इंगित गरिएकाहरु इस्लामिक अतिवादी नै हुन् । सीमा क्षेत्रबाट भारतले पक्राउ गरेका चिनियाँ नागरिकहरुबारे भने नेपालले समेत कुनै कुरा उठाएन । बीचमा लामो समयसम्म नभएको यस्तो बैठकलाई निरन्तरता दिने र अर्को साल नेपालमा गर्ने सहमति भएको छ । यसपटक विवादित क्षेत्र जस्तै कालापानी, सुस्तालगायत विषयमा भने कुनै छलफल चलेन ।

भारतीय पक्षले ९ वर्षपछि बैठक आयोजना हुन सक्नु नै ठूलो उपलब्धि भन्ने प्रसंग बारम्बार दोहोर्‍याएको थियो । हालका भारतीय गृहसचिव चार वर्ष सिक्किममा बसेर काम गरिसकेका हुनाले नेपालीसमेत बुझ्ने र बोल्न जान्ने राजेन्द्र प्रसाद हुन् । सहभागी प्रतिनिधिमण्डलका एक सदस्यका अनुसार उनमा ठुल्दाइजस्तो व्यवहार देखिएको थिएन । अत्यन्तै सरल प्रकृतिका र त्यसैअनुरूप व्यवहार गर्ने उनको शैलीका कारण पनि नेपाली पक्षले धेरै असहजता भोग्नुपरेन । भारतीय पक्षले सीमा पिल्लर बनाउने दिशातर्फ अघि बढौं भन्ने प्रस्ताव राखेको र नेपाली पक्षले त्यसलाई सहजताका साथ स्वीकृति दिएको थियो । दुवै पक्षले मिलेर बनाउनुपर्ने त्यस्ता सीमा स्तम्भ निकै धेरै रहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।