अब आमाको नामबाट मात्र होइन थरबाटै नागरिकता बन्ने

मंगलबार, २७ साउन २०८२

काठमाडौं— अब आमाको नामबाट मात्र होइन थरबाटै नागरिकता बन्ने भएको छ । जबर्जस्ती करणीबाट जन्मेका सन्तान वा बुवाको नाम थाहा नभएको वा बताउन नचाहनेकाको नागरिकताको अधिकार सम्बोधन गर्ने गरी नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मार्फत यस्तो व्यवस्था गर्न लागिएको हो । आमाको थर राखेर त्यस्ता सन्तानले नागरिकता लिन पाउनेगरी ऐन व्यवस्था गरिने गृहमन्त्री रमेश लेखकले प्रस्ट्याएका छन् । ऐन संशोधनपछि वैदेशिक रोजगारका क्रममा वा अन्य कारणले विदेशमा गर्भाधान भई नेपाली आमाबाट नेपालमै जन्मिएका सन्तानले नागरिकता पाउने बाटो खुला हुनेछ ।

त्यसका लागि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनी निज र निजको आमाले तोकिएबमोजिम स्वघोषणा गर्नुपर्ने छ ।