फर्केर हेर्दा गायक प्रताप सुब्बाको जीवन

बुधबार, १२ कार्तिक २०८२

भुटानका नेपालीभाषी पहिलो गायक तथा संगीतकार प्रताप सुब्वाको एक जीवनलाई पढ्ने हो भने दर्जनौं जीवनको अध्याय छिचोलेतुल्य हुन्छ । एउटै जीवनमा यति धेरै घामछाँया, हाँसोआँसु र उकालीओराली सम्भव छ र ? भन्ने प्रश्न आउन सक्छ । एक थान जीवनमा सयौँ थान जीवन भोगे बरावरको तितामीठा अनुभूतिको भारी उनीसँग छ । परिस्थितिले उनलाई धेरै देशमा पुर्यायो । भुटान, भारत, नेपाल हुँदै आज उनको भौतिक शरीर सतरी वर्षको आयु लिएर, अमेरिकामा न यता हुनु न उता हुनुको पीडा लिएर दशगजाको पिलर जस्तो एक्लै ठिङ्ग उभिरहेको छ ।

परिस्थितिले भौतिक शरीर जहाँ ठड्याए पनि उनले आज पनि आफ्नो मातृभूमि सम्झिरहेका छन्, जुन देशले एक समय उनलाई अनागरिक बनाएर मोरङको पथरीको शिविरको हट नं A5-62 को एक अँध्यारो कोठामा कैदीतुल्य जीवन दियो । ‘जीवन खालि पाना हो र ती पानाहरु सुन्दर कर्मले भर्नुपर्छ, यसो गरेमा पछिल्लो जीवन सहज हुन्छ’ भनेर जीवनलाई सरल शैलीले परिभाषित गर्ने गायक तथा संगीतकार प्रताप सुब्बाको जीवन आज पनि सरल नै छ । उनी सरल जीवनको लयमा आज पनि अमेरिकामा गुँजिन्छन्,

‘पूर्व गए पूर्व हजुर विदेशीको दाग लाग्छ
उतर दक्षिण जता गए पाहुनाको भाग लाग्छ
यो जातिको भाग्य कस्तो, आफ्नो भन्ने कहीँ छैन
आसाम, बर्मा, भुटानबाट खेदुवाको ताँत लाग्छ’

गायक तथा संगीतकार प्रताप सुब्बाको जीवन आज भन्दा उनन्सत्तरी बर्षअगाडि भुटानमा भएको थियो । पिता आसबहादुर लिम्बु र आमा इन्द्रमाया घलेको कोखबाट उनको जन्म बि.स २०१३ साल चैत्र ३० गते भुटानको चिराङ लप्सीबोटेमा भएको थियो । आमा इन्द्रमाया र जेठी आमा सुकमती लिम्बुको सन्तानले बुनिएको, घरमा पाँच दाजुभाइ र दश दिदी बहिनीको एक विशालकाय परिवार थियो । डेढ दर्जन भन्दा बढी सदस्य भएको परिवारमा सुब्बा कान्छो छोरा थिए । उनका बुबाले आफ्ना लाहुरे ठूलो बाबुसँग बसेर दार्जिलिङ्गमा अध्ययन गर्न पाएका थिए । उनको बुबा सोझो र इमान्दार भएकोले भुटान सरकारको विश्वासपात्र हुनुहुन्थ्यो । त्यसकारण बुबालाई भुटान सरकारले जागिर प्रदान गरेको थियो । पछि बढुवा हुँदा सब डिभिजन अफिसरसमेत हुनु भएको थियो । । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहलाल नेहरु भुटान भ्रमण आएको बेलामा उनको बुबालाई पनि भोजमा निम्तो गरिएको थियो ।

उनको प्रारम्भिक व्द्यिालय शिक्षा सन् १९६२ बाट St Augustine स्कुल कालिम्पोङमा ४ कक्षासम्म भएको थियो । कक्षा छ सम्म भने उनले sherubtse Public Kanglung मा अध्ययन गरे । उनले Sarpang central विद्यालय शिक्षा पुरा गरे । उच्च शिक्षा भने भारतको कालिम्पोङ्ग पुगेर स्कर्टिज युनिभर्सिटी मिसन इन्टिच्युडबाट गरे ।

सानोमा स्कुल पढ्दाको घटना पनि रोचक छ । सम्पन्न परिवारको दाजुभाइमध्ये सबैभन्दा कान्छो भएकोले उनी सानोमा अलि चकचके थिए । त्यसताका उनलाई विद्यालयको होस्टेल झ्यालखाना जस्तो लाग्थ्यो । उनी विद्यालयको होस्टेलबाट भागेर दिदीको घरमा आएर बस्थे । उनलाई लिनको लागि एक जना कर्म भन्ने केटा पठाउँथ्यो । ती केटो उनलाई लिन आउँदा उनी उसको आँखा छलेर चोर बाटोबाट भाग्थे । कर्म भन्ने केटोले उनलाई कान्ला, ढिस्को र गराहरुमा लखेट्थ्यो । उनी ढिस्कोमाथिबाट ‘मलाई आज लखेटिस् तँ भोलि प्रहरी हुन्छन्’ भन्थे । संयोग नै भनुँ, प्रताप सुब्बालाई सानोमा खेद्ने ती कर्म भनिने केटो पछिल्ला दिनमा भुटानको प्रहरी अधिकृत नै भए ।

सन १९७७ मा ‘गोर्खा दुःख निवारक संघ संगीत प्रतियोगिता’मा उनले भाग लिएका थिए । संयोगले त्यस कार्यक्रममा निर्णायक रहनु भएको थियो, गायिका अरुणा लामा । हातमा गितार समातेर गएको प्रताप सुब्बाले गितारलाई भुँइमा राख्न सकेनन् । एक हातले गितार समात्नु पर्दा, नमस्कार गर्ने ठाउँमा सलाम गरेछन् । प्रतियोगिताको निर्णय सुनाउने बेलामा ‘तिमीले अभिवादन गर्न जानेनौ, तिमी दोस्रो’ भन्दै उनलाई दोस्रो बनाएछन् । नमस्कार प्रथम भएको र सलाम दोस्रो भएको, प्रतियोगिताको टेप रेकर्ड गरिएकोले पछि उनले थाहा पाएका थिए कि –त्यही प्रतियोगिताको सुरुवातमा, उनले हाइ स्केलमा गाउन सक्दैनन् भनेर प्रतिक्रिया दिनु भएकी अरुणा लामा उनको गीत सुनेपछि तीन छक्क परेका थिए ।

अरुणा लामालाई एउटा भएपनि गीत गाउन लगाउने उनको सानैदेखिको सपना थियो । त्यसताका दार्जिलिङ्गमा ‘दिव्यवाणि’ भन्ने स्टुडियो थियो । स्टुडियोमा गीत रेकर्ड गर्न तीन हजार लाग्दथ्यो । चार पाँच बर्ष कोसिस गर्दा पनि उनले गोजीमा कैले तीन हजार अटाउन सकेन । गीत रेकर्ड गर्छु भनेर गोजीमा तीन हजार लिएर हिँडे पनि कैले गाडी भाडामा त कैले होटेलको खानामा चुहिएर तीन हजार भन्दा कम नै हुने गर्दथ्यो । ‘दुई चार सयको अभावले पनि ठूला ठूला सपनाहरु मर्न सक्छन्’ भनेर जीवनको विश्वविद्यालयबाट उनले पाठ त्यही बेला सिकेका थिए । त्यो गीत अरुणा लामाको आवाजमा रेकर्ड गर्न नपाएकोमा आज पनि उनको सुस्केरा चिसै छ । आज त्यो सपना पुरा गर्न सम्भव पनि भएन, किनभने आज उनको गोजीमा पैसा छ, तर अरुणा लामा कहीँ छैनन् । सापटीको लागि उनको स्वाभिमानले उनलाई निषेध गथ्र्यो । पैसाको अभावमा ओइलाएका गीतका ती पंक्तिलाई आज पनि स्मृतिको मालामा उनेकै छन् । उनी त्यो टुहुरो गीतलाई बेला बेलामा सम्झन्छन् ।

‘मान्छे तिमी पत्थर, पत्थर तिमी मान्छे
युगको नाता कति सस्तो
मान्छेको पो दुख्ने मुटु हुन्छ
पत्थरको खोइ कहाँ मुटु हुन्छ ?
आँखालाई चुपचाप सोधिहेरेँ
पत्थरको आँसु कहाँ हुन्छ ?’

रेडियो नेपालमा भ्वाइस टेस्ट दिन सन् १९७८ मा काठमाडौं आए । भ्वाइस टेस्ट दिए तर नतिजाको लागि एक महिना कुर्न भन्यो । एक महिना काठमाडौंमा बस्न सहज थिएन । दार्जिलिङ्ग नै हिँडे । उनलाई पास वा फेल कुनै जानकारी प्राप्त भएन । त्यसको चार वर्षपछि उनले सन् १९८२ मा पुनः रेडियो नेपालमा भ्याइस टेस्ट दिए । संगीतकार नातिकाजीले लिएको त्यो परीक्षामा उनी पास भए । त्यसपछि उनले बल्ल रेडियो नेपालमा गीत गाउन पाए । एक समय रेडियो नेपालमा गीत रेकर्ड गर्न पालो कुरेकै बेलामा भक्तराजले उनलाई भनेका थिए ‘हुन त आज गाउने डेट मेरो हो, तिमी टाढादेखि आएको छौ, तिमीले पहिला गाउनु’ । यति मात्र होइन भक्तराजले उनको गीतमा बाजा नै बजाउनुभयो ।

रेडियो नेपालमा स्वर परीक्षा दिएर पास त भए, तर भुटानबाट लखेटिएको नेपाली भएकोले गोजीमा नेपाली नागरिकता थिएन । जस्को कारण, सिंहदरवारमा गयो भने गेटमै उभिनुपर्ने बाध्यता आयो । रेडियो नेपालको पर्खाल समातेर बस्न उनको स्वाभिमानले उनलाई दिएन । बरु भोकै बसुँ, शिविरमै आत्मसन्तोष छ भन्दै उनी फेरि मोरङको पथरीको शिविर नै फिर्ता भए ।

उनी गीत रेकर्ड गर्न ‘संगम स्टुडियो’ गइरहन्थे । एकदिन संगम स्टुडियोमा संगीतकार दिब्य खालिङ्गले उनको गीतको मिक्सिङ्गमा खुब चाख लिएर सुने । यसरी बरिष्ठ संगीतकार दिब्य खालिङ्गले उनको गीतमा चाख लिएर सुन्दा सम्भावित प्रतिक्रियाको डरले उनको मुटु ढुकढुक भयो । पछि दिब्य खालिङ्गले पाँच ओटा अति मीठा गीतहरु सुनाए । सायद ती गीतहरु रेकर्ड गर्न सकेको भए नेपाली संगितको शिखर थप उचालिन्थ्यो कि जस्तो उनलाई लाग्छ । नारायण गोपालको मृत्युपछि वैकल्पिक गायकको खोजी गरिरहेका खालिङले प्रताप सुब्बामा त्यो प्रतिच्छाया भेटाएको हुन सक्थ्यो । उनले ती गीतहरु अर्थाभावले रेकर्ड गर्न सकेनन् । पछि दिव्य खालिङ पनि थलिए र ती गीतहरु कहिले रेकर्ड भएनन् । यसरी रितो गोजीबाट धेरैपटक उनका सपनाहरु चुहेका छन् । कहिले अरुणा लामासँग जोडिएको सपना चुहियो त कहिले दिव्य खालिङसँग जोडिएका सपना चुहे । खालिङले उनको स्वरबाट प्रभावित भएर, ‘शिविरमा नबस्, यही काठमाडौमा बस’ भनेर धेरैपटक अनुनय विनय गरेकै थियो । हलुको गोजी, खालि पेट, भुलभुलैया शहर, बेनाम राष्ट्रियतालगायत धेरै कुराले उनलाई काठमाडौंमा बस्न असहज बनाइदियो । उनी फेरि पथरीको शिविर नै फिर्ता भए ।

काठमाडौंमा आउने जाने क्रममा उनको चिनजान नारायण गोपाल, गोपाल योञ्जन, भक्तराज आचार्य, अरुण थापा, ओमविक्रम विष्ट, प्रकास गुरुङ र दिपक थापासँग भएछ । एकपटक उनी, उदय सोताङ, मणिकमल क्षेत्री र भुटानको केबी राई संगीतकार गोपाल योञ्जनकोमा गीत माग्न गएका थिए । गोपाल योञ्जनले ‘गीत त्यसै कहाँ पाइन्छ र गाएर देखाउनु पर्छ’ भन्नुभयो । त्यहीँ हार्मोनियम बजाइयो । उनले गीत गाउँदा गोपाल योञ्जन निकै प्रभावित भए । उनले एउटा गीत क्यासेटमा रेकर्ड गरेर ‘ल म पर्सी स्टुडियो आउँछु’ भन्नु भएछ । पछि स्टुडियोमा ‘ल सुब्बा भाइ, तिमी भोकै छौ । खाजा खाएर आऊ । यहाँ बस् मेरो स्टुडियो चलाएर बस् म तिमीलाई संगीत पनि सिकाउँछु’ भन्नु भएको थियो । त्यहाँ पनि गितारले भोको पेटसँग हारे र जसै गितार लिएर आएको हो, त्यसै फिर्ता भए पाइलाहरु, सपनाका डोबहरु मेट्दै, पथरीको शिविरतिर ।

उनले कैयन हिट गीत गाएका छन् तर उनका ती गीतमध्ये ‘बन्धनको चिनो’ गीत सर्वाधिक लोकप्रिय छ । सन् १९८४ मा जयबहादुरको आँखाको उपचारको लागि कलकतामा हिँडदा आफ्ना मित्र अम्बरसिंह गुरुङको घरमा रात काट्न पुगेछन् । अम्बरसिंहको कोठामा एउटा गितार थन्काइएको थियो । ‘ल गितार पनि छ एउटा गीत गरौँ न’ भनेर साथीले गरेको अनुरोधमा त्यो कम्पोज भएको रहेछ – बन्धनको चिनो । पछि काठमाडौं आएर म्युजिक नेपालमा त्यो गीतलाई रेकर्ड गरे । गोठाले प्रेमीले आफ्ना प्रेमिकालाई आफ्नो क्षमताले दिन सक्ने उपहारहरुको परिकल्पना गरेर गीत बुनिएको छ । त्यति मात्र होइन, सन् २०२३ मा उनले आफ्नो जन्मभूमिलाई सम्झेर ‘माथाङ, माथाङ’ गीत रेकर्ड गरेका छन् । हालै फेरि उनले राष्ट्रप्रेमले ओटप्रोत भएर ‘तिम्रो बुन्थल’ गीत पनि रेकर्ड गरेका छन् ।

प्रताप सुब्वाले राष्ट्रप्रेम, क्रान्तिकारी, प्रेमका अनेक गीत गाए । उनले काठमाडौंलाई धेरैपटक सम्झे तर काठमाडौंले भने उनलाई आफ्नो स्वार्थ विना कहिले सम्झेन । काठमाडौंका विभिन्न म्युजिक कम्पनीमा आफैले गाएका गीतहरु आफ्ना भएनन् । आजसम्म एक सय भन्दा बढी गीत रेकर्ड गरिसकेका सुब्बालाई सन् २००८ मा ‘पलेँटी’ले भने सम्झ्यो । सन् २००० बाट सँधैका लागि संगीतबाट विश्राम लिन्छु भन्ने सोच बनाएको बेलामा शिविरमै ‘तपाईले हाम्रा गजलहरु गर्नुपर्छ’ भनेर दमकका केही जागरुक युवाहरुले उनलाई गजल लेखेर दिए । उनीहरु उनको शिविरको आएर गीत दिन्थे । उनले ती गजलहरु संगीतबद्ध गरे र पछि अरिबहादुर गुरुङ र सिता खालिङको आर्थिक सहयोगमा ती गजलको एल्बम पनि निकाले । अहिले पनि बिशाल गुरुङ जस्ता शुभेच्छुकले उनलाई साथ सहयोग गर्न साथ छोडेका छैनन् ।

उनको गीत सुन्ने हो भने आकास जतिकै विशाल र धर्ती जतिकै दूरगामी हुन्छ । तर पनि उनी गुगलमा कम लेखिन्छ, युटयुबमा कम गुँजिन्छ र पत्रपत्रिकामा कम भेटिन्छ । प्रताप सुब्बा आज पनि जिउँदै छन् र उनी अमेरिकामा बस्छन् । उनको परिवारलाई नियाल्ने हो भने दुई श्रीमती मिङ्गमा शेर्पा र डम्बरकुमारी रिमाल, तीन छोरा र दुई छोरी छन् । अमेरिका पुगेर पनि उनले आफूले टेकेको भुइँ बिर्सेको छैन । आज पनि उनी विहान उठ्दा आफूसँगै संगीत लिएर उठ्छन् । दिनभरि संगीतलाई गुनगुनाउँछन् र राति सुत्दा संगीतलाई शिरानीमुनि राखेर सुत्छन् । उनी संगीतसँगै जन्मे र संगीतबाटै सँधैका लागि हराउन चाहान्छन् । बन्धनको चिनो, पूर्व गए पूर्व हजुर, मायालु भनेर, ठाउँ छैन मुटु परेलीको, तिमी देऊ या नदेऊ, मनै मर्यो, मैले कसैलाई, तिमीलाई मायाको चिनो, म पर्खिबसेँ कहिलेकाँही मंसिरको महिनालगायत गाइएका प्राय गीत कालजयी छन् । भोलिको दिनमा, गायक तथा संगीतकार प्रताप सुब्बा अस्ताचलमा अस्त भए पनि, उनले नेपाली संगीतमा छोडिएका संगीतरुपी ताराहरु उदय भैराख्नु पर्छ । प्रताप सुब्बा युगदेखि युगसम्म गुँजिनुपर्छ । आकासको जुनिसम्म उनको गीत गुँजिनुपर्छ, धर्तीको जीवनसम्म फैलिनुपर्छ । विश्वास छ, उनका गीत सुनेर फूलमा टाँसिएका कुनै पनि पुतलीहरु उड्दैनन्, आकासमा चम्किएका एउटै तारा झर्ने छैन । उनका गीत गीत मात्र हैनन्, जीवनका उत्प्रेरणा हुन् ।