प्रधानमन्त्रीको जेठो छोरो गोर्खाबाट चुनाव लड्ने

शुक्रबार, २६ मंसिर २०८२

काठमाडौं – गत साता आफ्नो जन्मभूमि गोरखा पुगेका ‘द काउन्सिल अफ जेनजी’ का अगुवा सुदन गुरुङ स्थानीयका कुरा सुनेर पोखरा हुँदै काठमाडौं फर्किएपछि गोरखाबाट चुनाव लड्ने मानसिकतामा पुगेको खुलासा भएको छ ।

उनी निकट व्यक्तिहरूका अनुसार सुदन आगामी चुनावमा वातावरण मिले गोर्खा–१ बाट लड्ने तयारी गरिरहेका छन् । सो क्षेत्रबाट गत चुनावमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले जितेका थिए ।भ्रमणको गतिविधि हेर्दा र सँगै गएकाहरूको कुरा सुन्दा सुदनको पुख्र्यौली थलोमा पुनः जरा जोड्ने र स्थानीयसँगको भावनात्मक तथा राजनीतिक सम्बन्ध मजबुत पार्ने अभियानको एउटा हिस्साको रूपमा गोरखा यात्रालाई लिन सकिन्छ ।

उनी निकटस्थका अनुसार पहिलो रात सुदन बास बसेको माछाखोला गोर्खाको दुर्गम क्षेत्र हो । त्यस भेगकै गुरुङ बस्तीहरूमा सुदन घुमे । घुम्दा थाहा पाए, यो क्षेत्रमा बाटोघाटोको अभाव छ । जनजीवन कष्टकर छ । हुँदाहुँदा स्थानीय सरकारका प्रशासकीय भवनसमेत नबनेको उनले पाए ।

सांस्कृतिक रहनसहन झल्कने गरी स्थानीयको स्वागत पाएका सुदनले पनि सबैलाई आश्वस्त पार्नैपर्ने थियो । जेनजी आन्दोलनपछि राज्यसत्तासँग सिधै जुहारी खेल्ने पहुँचमा पुगेका उनले त्यसको प्रयोग नगर्ने कुरै भएन । जसै स्थानीयले बाटोघाटो र स्थानीय तहको प्रसाशकीय भवन नबनेको गुनासो गरे, तत्काल अर्थमन्त्री रामेश्वर खनाललाई सम्पर्क गरेर गुनासो टिपाइहाले । यसरी उनले त्यहाँका स्थानीयलाई आश्वस्त पार्ने प्रयास गरेको भ्रमण टोलीका सदस्यले बताए ।

‘यति काम गरिदिए भने हामी सुदनलाई भोट पनि हाल्छौँ । बाटोघाटो बनेको छैन, यति गर्नसक्ने मान्छे भए किन भोट नहाल्नु,’ स्थानीयलाई उद्धृत गर्दै ती सदस्यले भने, ‘कतिपय अवस्थामा त जिल्लाकै सिडिओलाई पनि सुदनजीले फोन गर्नुभयो । भरसक स्थानीयलाई आश्वस्त बनाउने प्रयास गर्नुभयो।’

सुदन गाउँ पुगेपछि स्थानीयका खुसी पनि सामाजिक सञ्जालमा देखिए । उनलाई स्वागत गर्दै गर्दा एकजना स्थानीयले सुदन आउँदा ‘आफ्नै छोराजस्तै लागेको’ टिप्पणी गरे । त्यस्तै, आफ्नै ‘गुरुङ दाजुभाइ’ देशभर चर्चित बनेकोमा निकै खुसी भएको प्रतिक्रिया दिए । ‘सुदनलाई सुरुदेखि हेरिरहेका थियौँ । एकदम धेरै खुसी लागिरहेको छ,’ एक स्थानीयले भने।

गोर्खा दरबारमा पनि खादाले पुरिएका सुदनले दरबार परिसरमा पृथ्वीनारायण शाहको भेषमा बसेकासँग केहीबेर गफ गरे। उनका कुरा चुपचाप सुने।

त्यस्तै, गोर्खा दरबार अगाडिकै अर्को दृश्य छ, जसमा सुदनलाई स्थानीय जेनजी युवाहरूले घेरेका छन् । काँधमा राष्ट्रिय झन्डा भिरेका उनीसँग फोटो खिच्ने युवाहरूको इच्छा देखियो । यस्ता स–साना कुराले उनलाई उत्साही बनाइरह्यो।

यही मौकामा पञ्चेबाजाले स्वागत हुने मेसो मिलाएका उनले त्यही बाजाको लयमा काँधमा राष्ट्रिय झन्डा बोकेर आफ्नो ज्यान मर्काइहाले। काठमाडौंमा कान बुच्चै देखाएका सुदनले गोर्खामा सांस्कृतिक पहिचान बोक्ने मुन्द्रा झुन्ड्याए । त्यही सांस्कृतिक भेषमा नै स्थानीय तहमा गएर आफ्नै नागरिकता छानबिन गर्न उजुरी हाले।

‘अध्यक्षज्यूलाई एउटा निवेदन दिऔँ, औपचारिक रूपमा गर्नुपर्छ यस्तो काम । सुदन गुरुडको हैसियत के हो भनेर फेरि भोलि झोलेहरूले प्रश्न उठाइहाल्छन्, ‘आफ्नो आसपासमा हिँडिरहेका समर्थकलाई आदेश दिँदै उनले भनेका छन्, ‘जसले यस्तो भन्छ, त्यस्ताकोमा चाहिँ झोले भनेर कमेन्ट गरिहाल्नु है।’

आफ्नो नागरिकतामा प्रश्न गर्नेलाई गलत साबित गर्न धेरै बल लगाएको देखियो । वडाध्यक्षसामु छानबिनको निवेदन गरेका सुदनले उनलाई मिडियासामु नै बोल्न लगाए । आफूलाई देशको खातिर लडेकै कारण र गुरुङ भएकै कारण देशको नागरिक हैन भन्ने आरोप लगाएको भन्दै सत्यतथ्य बताउन वडाध्यक्षलाई अनुरोध गरे । वडाध्यक्षले पनि उनी नेपालकै नागरिक रहेको कुरा बोले । सुदन नेपाली नै रहेको तथ्य बोल्दाबोल्दा आफू थाकिसकेकोसम्म वडाध्यक्षले भन्न भ्याए।

हुँदाहुँदा आफ्नी फुपूसँग पनि गफगाफ गरे, सुदनले । त्यो पनि, एमाले अध्यक्ष केपी ओली र महेश बस्नेतको नाम नै तोकेर आफ्नो ‘फुपू हेर्नू’ भनेर देखाए । फुपूलाई पनि यसबारे बोल्न लगाए। सँगै गोर्खा पुगेका मिडियाले पनि ‘तपाईंको भदालाई विदेशी भन्छन् नि’ भन्दै प्रश्न गरे । उनले पनि सुदनको बाबाको घर र आफ्नो घर एकै ठाउँमा रहेकोले भ्रममा नपर्न अनुरोध गरिन्।

यसरी गाउँगाउँ हिँडेका सुदनको रणनीति आगामी चुनावमा गोर्खाबाट लड्ने योजनामा केन्द्रित छ। उनीसँगै भ्रमणमा गएका सदस्यहरूले उनले त्यो आसयमा स्थानीयसँग कुराकानी गरेको बताए । यतिसम्म कि, सुदनलाई अहिलेको अवस्थामा देशको जुनसुकै भूगोलमा लडे पनि चुनाव जित्छु भन्ने आत्मविश्वास छ । तर ती सदस्यका अनुसार यदि जेनजीको माग पूरा भएको अवस्थामा मात्र आफू चुनावमा जाने र लड्ने रणनीति बनाएका सुदनले गोर्खालाई नै केन्द्रमा राखेका छन्।

सामाजिक सञ्जालमा देखिएका कतिपय भिडिओले पनि त्यस्तै देखाउँछ। जस्तो, एउटा भिडियोमा उनी स्थानीयसँग देखिन्छन् । त्यही मेसोमा पत्रकारले चुनाव भयो भने सुदनलाई भोट हाल्नुहुन्छ कि नाइँ भन्दै सोध्छन् । सबैले सुदन चुनावमा उठे भोट हाल्ने बताउँछन् ।

‘हाम्रो माग पूरा नभई त चुनावमा आइँदैन । यदि पूरा भयो भने म पनि चुनावमा आउँछु । त्यसबेला सम्भवतः गोर्खा क्षेत्र नम्बर १ नै मेरो रोजाइ हुन्छ होला,’ उनले गोरखा पुगेर भने।
‘ऊ यत्रो जेनजीको नेता भयो। दुई दिनमा देशमा परिवर्तन ल्याउने काम गर्यो । त्यसपछि हामीले उसलाई चिन्यौँ । चुनमुब्री जस्तो दुर्गम ठाउँमा जन्मिएको हाम्रै छिमेकी मान्छे रहेछ भनेर चिन्ने मौका पायौँ,’ एक स्थानीयले भनेकी छन्, ‘हामी यो कुनाकाप्चामा बसे पनि सुदन भाइको भिडियो चाहिँ हेरिरहन्छौँ।’

यसरी जेनजी आन्दोलनको तीन महिना पुग्न लाग्दा जीवनमै पहिलोपटक आफ्नो गाउँ पुगेका उनले यदि जेनजीका माग पूरा भए आफू चुनावमा सहभागी हुने बताए । भरसक वैकल्पिक शक्तिलाई मिलाएर उनीहरूलाई साथ दिने र आफू पनि उनीहरूसँगै चुनावमा होमिने बताए। यस्तो अवस्थामा गोर्खा क्षेत्र नम्बर १ बाट चुनावमा लड्ने घोषणा गरे।

‘हाम्रो माग पूरा नभई त चुनावमा आइँदैन । यदि पूरा भयो भने म पनि चुनावमा आउँछु । त्यसबेला सम्भवतः गोर्खा क्षेत्र नम्बर १ नै मेरो रोजाइ हुन्छ होला,’ उनले गोरखा पुगेर भने।

त्यसपछि तीन दिनको गोरखा बसाइ सकेर सुदन पोखरा हानिए । पोखरामा आफ्नो कार्यक्रम सकेर काठमाडौं आएका उनी पछिल्लो समय गोर्खामा स्थानीयसँग वाचा गरेअनुसार नै वैकल्पिक शक्ति एक बनाउने भन्दै दौडधुप गरिरहेका छन्।

कुलमान र बालेनलाई आफूले नै भेट गराएको दाबी गरेका उनले नख्खु जेल पुगेर रास्वपा सभापति रवि लामिछाने पनि भेटे । पुराना शक्ति नमिली हुँदै नहुने उनको अडान छ ।

बुधबार जेनजी–सरकारबीच सहमति भएपछि त आफू झन् ढुक्क भएको र राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र चुनावतर्फ केन्द्रित हुने बताए । त्यसको लागि गोर्खा–१ आफ्नो प्रिय भूमि रहेकाले त्यहाँबाट लड्ने कुरालाई अन्यथा सोच्नु नपर्ने बताए ।