पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जा पक्राउ
काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जालाई प्रहरीले पक्राउ गरेको छ ।
हिमानी ट्रस्टको कार्यक्रममा विदेश पठाइदिने भन्दै ६ करोड ठगेको आरोपमा ज्ञानेन्द्रका भान्जा मनोजकुमार भनिने अनुपकुमार सिंह पक्राउ परेका हुन् ।
काठमाडौंको असन स्थायी घर भई ललितपुरको इमाडोल बस्ने सिंहले पारस शाहकी छोरीको इन्गेजमेन्टमा लैजाने भन्दै ठगेको अभियोगमा यसअघि पनि पक्राउ परेका थिए । सिंहले ज्ञानेन्द्रको भान्जा भन्दै ठगेको भएपनि सांचै भान्जा नभएको प्रहरीले जनाएको छ ।
‘बेलायतमा ड्रिमल्यान्ड होटल सञ्चालनका लागि नेपाली कामदार चाहिएको भन्दै जनही २५ लाख रुपैयाँ लाग्छ, अहिलेलाई ६ देखि ८ लाख रुपैयाँ दिए पुग्छ’ भन्दै सिंहले दर्जनौं व्यक्तिबाट पैसा उठाएका छन् ।
शुक्रबार टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सिंहबाट पीडित भएकाहरूको उजुरीको चाङ लागेको छ ।
केही पीडितलाई त सिंहले बेलायत जाने भनेर सुटकेससहित काठमाडौं बोलाएर अलपत्र पारेका सिंहलाई झापा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको हो । सिंहको गिरफ्तारी यो पहिलोपटक भने होइन ।
उनी पटक–पटक गरी ७ पटक विभिन्न कसुरमा पक्राउ परेर छुटेका पटके हुन् । २०८१ फागुनमा पक्राउ परेका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विगतमा सिंहले पोखरा गोल्डकप आयोजना हुँदा हेलिकप्टर चढेर खेलाडीलाई ट्रयाकसुट बाँड्न पुगेका थिए ।
‘हेलिकप्टर चढेर ट्रयाकसुट बाँड्न पुगेका सिंह ठूलै हैसियत भएका मान्छे रहेछन् भन्ने पर्यो । खेल पदाधिकारी र कर्मचारीलाई सिंहले छोराछोरी बेलायत पठाइदिन्छु भन्दै पैसा मागेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘पैसा लिएर काठमाडौं आएपछि उनी सम्पर्कविहीन भएका रहेछन् ।’
उनले त्यतिबेला पनि आफूलाई पूर्वराजाको भाञ्जा बताएर एक करोड ३८ लाख ६५ हजार रुपैयाँ ठगी गरेका थिए । शुरूमा अनुसन्धान कार्यालयले पक्राउ गरेका सिंहलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट मुद्दा चलाउन उतै बुझाएको थियो ।
अचम्मको कुरा त सिंहले ठगीको रकम आफ्नो खातामा हाल्न नलगाएर चालकदेखि वकिलसम्मको खातामा रकम जम्मा गराउँथे ।
गत वर्ष प्रहरीमा आएकी एक पीडित महिलाबाटै अमेरिका पठाइदिन्छु भन्दै सिंहले ९७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
सैनिक पोशाकमा फोटो खिचाएर सिंहले आफूलाई विमान चलाउने क्याप्टेन हुँ भन्दै महिलालाई अमेरिका पठाइदिने आश्वासनमा रकम ठगेका थिए ।
ललितपुर परिसरले सरकारी वकिलमार्फत सिंहविरुद्ध ठगी कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको थियो । अदालतले सिंहसँग १२ लाख धरौटी माग गर्यो । शुरूमा उनी धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि कारागार चलान भएका थिए । तीन महिना कारागार बसेर छुटेका सिंह पछि पुनः ठगी धन्दामा लागेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
काठमाडौंको ज्ञानेश्वरमा सिंहले कार्यालय नै स्थापना गरेर बसेका थिए । प्रहरी छापा मार्न पुग्दा उनले पूर्वराजा ज्ञानेन्द्रको फोटो टाँसेर राखेका थिए ।
आलिसान कार्यालय खोलेर उनले सोझासाझालाई बेलायत र अमेरिका पठाइदिन्छु भन्दै रकम असुली धन्दा चलाउने गरेका थिए ।
अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार वैदेशिक रोजगारका नाममा बेलायत पठाउने भन्दै करोडौं ठगी गरेको उजुरी परेपछि सिंहलाई पक्राउ गरिएको हो ।
सरकारी कार्यालयको छाप समेत राखेका सिंहविरुद्ध प्रहरीले सरकारी छाप दस्तखत कीर्तेमा समेत मुद्दा चलाउने तयारी गरेको छ ।
‘