एमाले उपमहासचिवमा लेखराज भट्ट ‘प्रथम’, ओली पक्षका विष्णु रिमाल पराजित
काठमाडौं — नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत मतगणना सकिएको छ । बिहीबार (पुस २) बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा थालिएको मतगणना दिउँसो सकिएको हो ।
११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
तीन उपमहासचिव पदका निम्ति सातजना चुनावी प्रतिस्पर्धामा थिए । उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी एक हजार ४५२ मत प्राप्त गरे । उनीपछि रघुवीर महासेठले एक हजार ३६८, योगेश भट्टराईले एक हजार ३४८ मत प्राप्त गरे । भट्ट, महासेठ र भट्टराई उपमहासचिवमा निर्वाचित भएका हुन् ।
उनीहरूपछि विष्णुप्रसाद रिमालले एक हजार ९१, आनन्दप्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ मत प्राप्त गरे । उनीहरू पराजित भए ।
अन्तिम नामावली प्रकाशन गरिसकेपछि उमेदवारी फिर्ताको घोषणा गरेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका आयोगले जनाएको छ ।
निर्वाचितमध्ये भट्ट र महासेठ ओली प्यानलका हुन् । भट्टराई पोखरेल प्यानलका हुन् ।
पराजितमध्ये रिमाल ओली प्यानलका हुन् । बाँकी पोखरेल प्यानलका हुन् ।
मतदानमा ८० विद्युतीय मेसिन प्रयोग गरिएको थियो । त्यसबाट प्रतिनिधिले मतदान गरेका हुन् ।
यसपालि कुल दुई हजार २६३ मतदाता थिए । दुई हजार २२७ प्रतिनिधिले मतदान गरे । ३६ प्रतिनिधि मतदानमा अनुपस्थित रहेका पार्टी निर्वाचन आयोगले जनाएको छ ।
१९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा थिए । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार थिए ।
बुधबार (पुस १) बिहान करिब सवा ९ बजेदेखि मतदान थालिएको थियो । बिहीबार (पुस ३) बिहान मतदान सकिएको हो ।
गएको मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित चौरमा महाधिवेशन उद्घाटन गरिएको थियो । त्यसको भोलिपल्टदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु गरिएको थियो । मंसिर २९ गते महाधिवेशन सकाउने पूर्वनिर्धारित तालिका थियो । तर, मतदानमा ढिलाइ हुँदा महाधिवेशन लम्बिएको हो ।