नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट हामफालेका डाक्टरको मृत्यु

आइतबार, ६ पौस २०८२

काठमाडौँ – विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट हाम्फालेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:१५ बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौं तलाबाट यादवले हाम्फालेका थिए ।

गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालमा खटिएका सुरक्षाकर्मीले पुष्टि गरेका छन् ।

मृतक यादव सोही मेडिकल कलेजमा एमबीबीएस पूरा गरी इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए । उनी विराटनगरमै कोठा भाडामा लिएर बस्दै आएका थिए ।

अस्पतालका एक सुरक्षा गार्डका अनुसार यादव आइतबार बिहान ३ बजे नै उठेका थिए । उनले आफ्ना बुवालाई चिया खुवाएर बिहान ४ बजेतिर अस्पताल प्रवेश गरेका थिए । अस्पताल छिरेको केही समयपछि उनी छतमा गएर हाम्फालेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।